बाँके, १० मङ्सिर: दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा जारी २३औँ राष्ट्रिय पौडी प्रतियोगितामा बागमती प्रदेशले आफ्नो अग्रता कायमै राखेको छ ।
प्रतियोगिताको तेस्रो दिनसम्म बागमतीले १२ स्वर्ण, सात रजत र सात कास्य पदक जितेको छ । नौ स्वर्ण, तीन रजत र तीन कास्यसहित एनआरएनए दोस्रो तथा छ स्वर्ण, १० रजत र १३ कास्यसहित नेपाली सेना तेस्रो स्थानमा छन् ।
त्यसैगरी चार स्वर्ण, ११ रजत र १२ कास्यसहित नेपाल पुलिस क्लब चौथो, दुई स्वर्णसहित कोशी प्रदेश पाँचौँ तथा एक स्वर्ण, तीन रजत र एक कास्यसहित सुदूरपश्चिम प्रदेश छैटौँ स्थानमा छन् ।
नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा आज भएको प्रतियोगिताको तेस्रो दिन पनि राष्ट्रिय कीर्तिमान बन्ने क्रम जारी रह्यो । आज विभिन्न स्पर्धामा पाँच राष्ट्रिय कीर्तिमान कायम भए ।
महिला एक हजार ५०० मिटर फ्रिस्टाइलमा एनआरएनएकी लिली बोहराले १८ मिनेट चार दशमलव १५ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । यसअघि उक्त कीर्तिमान डुवाना लामाको नाममा १९ मिनेट छ दशमलव २३ सेकेन्डको थियो । नेपाल पुलिसकी देवांशी जोशीले रजत र आर्मीकी सिशोम्बुन राईले कास्य जितिन् ।
पुरुष १०० मिटर बटरफ्लाइमा बागमतीका अभिभ प्रधानले ५८ दशमलव २२ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते । उनले सन् २०२५ मा काठमाडौँमा आयोजित दोस्रो एक्वाटिक्स च्याम्पियनसिपमा अनुभव सुब्बाले कायम गरेको ५९ दशमलव ५४ सेकेन्डको कीर्तिमान तोडेका हुन् । नेपाल पुलिसका इरभिन श्रेष्ठले ५९ दशमलव ०४ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीका सौर्यनबहादुर सिंहले कास्य जिते ।
पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा कोशीका विकास कुमालले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै दुई मिनेट ३४ दशमलव ३६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएर स्वर्ण जिते । यसअघि उनले ११औँ एनएसए स्विमिङ प्रतियोगिता, २०८० मा दुई मिनेट ३४ दशमलव ७४ सेकेन्डको कीर्तिमान कायम गरेका थिए । यस स्पर्धामा सुदूरपश्चिमका अथर्व सिंहले रजत र आर्मीका जेडेन श्रेष्ठले कास्य जिते ।
पुरुष ५० मिटर ब्याकस्ट्रोकमा बागमतीका अभिभ प्रधानले दुईपटक राष्ट्रिय कीर्तिमान सुधार गरे । उनले बिहानको हिट चरणमा २८ दशमलव ९९ सेकेन्डको नयाँ कीर्तिमान बनाएका थिए । फाइनलमा आफ्नै कीर्तिमान सुधार गर्दै २८ दशमलव ९५ सेकेन्डमा दूरी पूरा गरी स्वर्ण जिते । यसअघि उक्त कीर्तिमान सन् २०२६ मा काठमाडौँमा आयोजित तेस्रो नेपाल एक्वाटिक्स च्याम्पियनसिपमा जेडेन श्रेष्ठले २९ दशमलव ७० सेकेन्डमा कायम गरेका थिए । यस स्पर्धामा आर्मीका जेडेनले रजत र बागमतीका रेवन्तबहादुर श्रेष्ठले कास्य जिते ।
पुरुष चार गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा बागमतीका रेवन्तबहादुर श्रेष्ठ, एरिक कर्माचार्य, वशिष्ठराज शाही र अभिभ प्रधानको टोलीले तीन मिनेट ४५ दशमलव ७५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्यो । यसअघि अभिभ प्रधान, जेडेन श्रेष्ठ, रेवन्तबहादुर श्रेष्ठ र अल्भिन महर्जनको टोलीले सन् २०२५ मा अहमदाबादमा आयोजित ११औँ एक्वाटिक्स च्याम्पियनसिपमा तीन मिनेट ४७ दशमलव ७३ सेकेन्डको कीर्तिमान कायम गरेको थियो । यस स्पर्धामा नेपाल पुलिसले रजत र आर्मीले कास्य जिते ।
पुरुष ४०० मिटर फ्रिस्टाइलमा नेपाल पुलिसका कल्किन श्रेष्ठले चार मिनेट २० दशमलव ११ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । पुलिसकै मायोन श्रेष्ठले रजत तथा सुदूरपश्चिमका अथर्व सिंहले कास्य जिते ।
महिला २०० मिटर व्यक्तिगत मिड्लेमा एनआरएनएकी लिली बोहराले दुई मिनेट ३३ दशमलव ६७ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । आर्मीकी डुवाना लामाले रजत र एनआरएनएकी मिखा काया थापाले कास्य जितिन् ।
महिला १०० मिटर बटरफ्लाइमा आर्मीकी डुवाना लामाले एक मिनेट १० दशमलव ४३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । एनआरएनएकी लिली बोहराले रजत र नेपाल पुलिसकी देवांशी जोशीले कास्य जितिन् ।
महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुवाना लामाले दुई मिनेट ४९ दशमलव ३४ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । एनआरएनएकी लिली बोहराले रजत र आर्मीकी रितिका भूमीले कास्य जितिन् ।
महिला ५० मिटर ब्याकस्ट्रोकमा एनआरएनएकी मिखाकाया थापाले ३३ दशमलव २७ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । बागमतीकी आर्या महर्जनले रजत र नेपाल पुलिसकी देवांशी जोशीले कास्य जितिन् ।
महिला चार गुणा २०० मिटर फ्रिस्टाइल रिलेमा आर्मीका लुना श्रेष्ठ, रैजा अवाले, सिशोम्बुन राई र डुवाना लामाको टोलीले नौ मिनेट ५८ दशमलव ७३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो । बागमतीले रजत र नेपाल पुलिसले कास्य जिते ।
पुरुष चार गुणा ५० मिटर मिड्ले रिलेमा आर्मीका जेडेन श्रेष्ठ, आरभ अग्रवाल, अशिम भण्डारी र अल्भिन महर्जनको टोलीले एक मिनेट ५६ दशमलव आठ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो । बागमतीले रजत र नेपाल पुलिसले कास्य जिते ।
प्रतियोगिताको तेस्रो दिन आज १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको अन्तिम दिन भोलि थप १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगिताका निर्देशक विष्णु खड्काले जानकारी दिनुभयो ।