मंसिर ११, २०८३ शुक्रबार

सिन्धुपाल्चोक, ११ मङ्सिरः सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाबाट स्रोत नखुलेको ६६ हजार ९५० चिनियाँ युआनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    भोटेकोशी गाउँपालिका–२ स्थित अस्थायी प्रहरी पोष्ट १० किलो अगाडि बिहीबार जाँचका क्रममा उक्त रकम बरामद भएको हो । इलाका प्रहरी कार्यालय कोदारी र अस्थायी प्रहरी पोष्ट १० किलोबाट खटिएको संयुक्त प्रहरी टोलीले कोदारीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ५ च ५२९३ नम्बरको स्कारपियो गाडी जाँच गर्ने क्रममा रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    गाडीको बीचको सिटमा सवार ५१ वर्षीय चिनियाँ नागरिक सिरेनु ओजीले बोकेको कालो झोलाभित्र लुकाएर राखिएको अवस्थामा उक्त रकम बरामद भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार बरामद रकममा १०० युआन दरका ६६७ थान र ५० युआन दरका पाँच थान नोट छन् । उक्त रकम नेपाली रु १६ लाख छ हजार ८०० बराबर रहेको उहाँले जानकारी दिनुभयो ।

    घटनामा संलग्न रहेको आरोपमा ५१ वर्षीय सिरेनु र ४३ वर्षीय बुजियान्दु ओजीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोदारीमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    स्कारपियोका चालक भोटेकोशी गाउँपालिका–५ निवासी २८ वर्षीय मोहन भण्डारीलाई भने आवश्यक अनुसन्धानपछि छाडिएको प्रहरीले जनाएको छ ।