फागुन २८, २०७७ शुक्रबार


एजेन्सी।
चीनले व्यापारिक क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ । यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो ।

यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनीले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो । सो कम्पनी चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएको आरोप लागेको थियो ।

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा बिहीबार अलिबाबामाथिको जरिवाना सम्बन्धी समाचार छापिएको थियो । त्यसलगत्तै एएफपीले अलिबाबाका विषयमा चिनियाँ अधिकारीहरुसँग सम्पर्क गर्दा उनीहरुले यसबारेमा केही बताउन चाहेनन् ।

चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रुपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीहरुले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका छन् ।

यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।

तर अलिबाबाका संस्थापक अर्बपति व्यापारी ज्याक मा ले गत वर्ष अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उनी र उनको व्यवसाय सरकारी निकायहरुको आँखाका तारो बनेका छन् ।