पुस २२, २०७८ बिहिबार

सरकारले ढिला गरी उखुको समर्थन मूल्य तोकेको छ । उखुको समर्थन मूल्य निर्धारण गर्दा किसानलाई रुवाइरहेका चिनी उद्योगीकै पल्ला भारी भएको छ । सरकारले उद्योगीलाई नै फाइदा हुनेगरी निर्णय गरेको हो । किसानले सामान्यतयाः कात्तिक अन्तिम सातादेखि नै उखु काट्न र चिनी मिललाई बेच्न थाल्छन् ।

तर, सरकारले त्यसको डेढ महिनापछि बल्ल हिजो (बुधबार) मूल्य निर्धारण गरेको हो । सरकारले यो वर्षभरका लागि उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ (अनुदानसहित) तोकेको छ । जसमा उद्योगीको प्रष्ट जीत झल्किन्छ । उखु किसानले यस वर्षलाई उखुको मूल्य प्रतिक्विन्टल ६५० रुपैयाँभन्दा बढी निर्धारण हुनुपर्ने माग राखेका थिए । यस्तै, उद्योगीले ५८० रुपैयाँ प्रतिक्विन्टल मूल्य तोकिनुपर्ने अडान राखेका थिए ।


कृषि तथा पशुपन्छी मन्त्रालयले उद्योगी र किसानलाई मन्त्रालयमै बोलाएर छलफल गर्दा दुवै पक्षले आ–आफ्नो अडान राखेका थिए । सोही अडानमा कुरा नमिल्दा केही समय मूल्य निर्धारण प्रक्रिया नै रोकिएको थियो । अन्ततः सरकारले किसानलाई पाखा लगाउँदै उखुको मूल्य तोकेको हो ।