बैशाख ११, २०७९ आइतबार

कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेतले पहिलो पटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो । 

प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६/७८/०७९ को विज्ञापनअनुसार खुलामा आठ र महिलातर्फ एक गरी नौ कर्मचारी माग गरेको थियो । सो विज्ञापनअनुसार शनिबार सञ्चालित परीक्षामा दुई हजार १९७ परीक्षार्थी सम्मिलित भएको आयोगका सचिव भुपेन्द्र थापाले जानकारी दिए । 

आयोग अध्यक्ष रामप्रसाद उपाध्यायले संघीयताको इतिहासमा पहिलो पटक परीक्षा सञ्चालन गर्ने अवसरले आयोग परिवारलाई गौरवान्वित तुल्याएको बताए । आफ्नै सरकारअन्तर्गत गठित प्रदेश लोक सेवा आयोगले सञ्चालन गरेको परीक्षाले परीक्षार्थीहरूलाई संघीयताको अनुभूति गराएको उनको भनाइ थियो । आयोगले सञ्चालन गरेको महिला विकास निरीक्षकको परीक्षामा सहभागी हुन पाउँदा निकै खुशी लागेको परीक्षार्थी शिवा शाहीले जानकारी दिए ।