माघ ३०, २०७७ शुक्रबार

नारायण गाउँले /

तपाईंलाई याद छ ?  यही महामारीलाई देखाउँदै भारतबाट २० दिन पैदलै हिँडेर देशको बोर्डरसम्म आइपुगेका सुत्केरी मजदुरलाई आफ्नो देश छिर्न दिइएको थिएन ! बोर्डरसम्म आइपुगेर पनि दार्चुलाका वासुदेव भट्टले आमाको मुख देख्न पाएनन्, मृत्युको खबर सुने, दागबत्ती दिन पाएनन्, किरिया बस्न समेत देश छिर्न दिइएन । ज्यानको बाजी थाप्दै महाकालीमा हाम्फालेर देश छिर्न सफल युवालाई प्रहरीले आतङ्ककारीझैँ नाङ्गै गाउँ घुमाएको तस्बीर धेरेको आँखामैं होला । कैयौं दिन बोर्डरपारि नेपाली मजदुरले बिजोग र नारकीय जीवन बिताए ।

महामारीसँगै रोजगारी गुमेर खाड़ीमा फसेका मजदुरले पाएको दुःख अवर्णनीय रह्यो । तिनले कतैबाट राहत र आश्वासन पाएनन् । कैयौं हप्ताको बिचल्लीपछि तीसँग उद्धारको नाममा तेब्बर भाड़ा असुलियो, जबकि सर्वोच्चले निःशुल्क उद्धार गर्ने आदेश दिएको थियो । काठमाडौंमा बस्न र खान सकस भएपछि कैयौं मान्छे पैदल नै घर निस्किए । सानो सानो व्यवसाय र मजदुरी गर्नेले भोकसँग हारेर सड़कमैं एक छाक तातो खानाका लागि लाइन लागे । राज्यले तिनको उल्टो मजाक उडायो । यहाँसम्म कि निःशुल्क परीक्षण र उपचार गर्नु भन्ने सर्वोच्चको आदेशलाई बदर गर्न भन्दै सरकारले अदालतको ढोका ढकढक्यायो । सरकारसँग स्रोत नभएको तर्क थियो । हजारौंले काम गुमाए, व्यवसाय गुमाए तर कसैले एक सुका राहत या सहयोग पाएको सुनिएन ।

आज परिस्थिति उस्तै छ । भाइरसका नयाँ स्ट्रेनहरू विकास हुँदै छन् । सिङ्गो विश्व महामारी कसरी फैलिन नदिने र कम्तिमा एउटामात्रै भए पनि नागरिकको ज्यान कसरी बचाउने भन्नेमा चिन्तित छ, भौतिक दूरीको अभ्यासमा छ तर नेपालमा भने सरकार आफै कसरी भीड़ जम्मा गर्ने भन्नेमा व्यस्त छ । अरू पनि यही स्पर्धामा छन् । हिजो विदेशमा फसेको बेला उद्धार गर्ने पैसा नभए पनि आज उखान र गाली सुनाउन मान्छे जोड्ने पैसा राज्यसँग छ ।

इतिहासकै कठिनतम घड़ीमा सिङ्गो देश यतिबेला विभाजित र ठप्प छ । कैयौं संवेनदशील मुद्दाहरू पेन्डिङ् छन् र निकास दिनुपर्ने सर्वोच्चदेखि मुख्य न्यायाधीशहरू हप्तौंदेखि एउटै प्रश्नमा अल्झेका छन् । दिनहुँ देशको आर्थिक र स्वास्थ्य सङ्कटबारे ब्रिफिंग गर्नुपर्ने प्रधानमन्त्री हजारौंको भीड़ जम्मा गरेर उखान सुनाउँदै छन् । कस्ले कति भेड़ा जम्मा गर्ने भन्ने प्रतिष्पर्धा नै चलेजस्तो देखिन्छ ।
न शासकलाई राजश्वले तलबसम्म नधान्ने स्थिति प्रति चिन्ता छ, न दुई छाक र एक्सरो लुगा जोहो गर्न नसकेर गालीगलौज सहँदै दशैँकै दिन भारत छिर्न बाध्य मजदुरप्रति कुनै चासो छ । बढ्दो महँगी, बेरोजगारी, व्यापारघाटा जस्ता शीर्षकमा कुनै आमसभा भएको सुन्नुभएको छ ? यो सङ्कटमा सबैलाई जोड्नुपर्ने दायित्व भएको सरकार कसरी हरेक क्षेत्र फुटाउने भन्ने खेलमा छ । पार्टी फुटेको छ, न्यायालय फुटेको छ । पत्रपत्रिकादेखि नागरिकसम्म फुटको अवस्थामा पुगेका छन् ।

यो सबै के र कसका कारण हुँदै छ रु केही व्यक्तिमा रहेको कुण्ठा, ईगो, स्वार्थ र लोभका कारण होइन रु म मात्रै हुनुपर्छ भन्ने हठले होइन रु म नभए तँ किन हुने भन्ने अहम्ले होइन रु कतिन्जेल तिनै अहम्, स्वार्थ र ईगोको पछाडि भेड़ा जस्तै कुदिरहने रु हाम्रो टाउको गनेर एउटाले तेरोभन्दा मेरो भेड़ा धेरै भन्छ, सकिन्छ । कतिन्जेल सङ्ख्या बनिरहने ?