असार ११, २०७९ शनिबार

काठमाडौँ । महोत्तरीमा सामुदायिक वनबाट चोरी निकासीका क्रममा बरामद गरिएको लाखौँ रुपैयाँको काठ कुहिन थालेको छ ।

काठसम्बन्धी मुद्दा लामो समयसम्म किनारा नलाग्दा बरामद काठसँगै सवारीसाधन समेत जिल्ला वन कार्यालयको परिसरमा कुहिएर नष्ट हुँदै छ । वन कार्यालय र मातहातका कर्मचारीलाई प्रदेश सरकारको मातहतमा राखिए पनि महोत्तरीमा अवैध तरिकाले कटान गरी चोरी निकासी गर्न लागिएको काठसम्बन्धी मुद्दा भने लामो समयसम्म किनारा लाग्न सकेको छैन ।

वन पैदावार चोरी निकासी र अतिक्रमणबारे डिभिजन वन कार्यालयमा आर्थिक वर्ष २०४८/४९ देखि २०७८/७९ सम्म दर्ता भएका २०३ मुद्दाको फैसला अहिलेसम्म हुन सकेको छैन । मुद्दा सङ्ख्या न्यून रहेको महोत्तरीमा एक वर्षको अवधिमा सबैभन्दा बढी ०६७÷६८ मा २६ मुद्दा दर्ता भएका थिए । मुद्दा कम भए पनि फैसला नहुँदा बरामद काठ, सवारी साधन लिलाम नभएर वन कार्यालयको परिसरमा कुहिएर नष्ट भइरहेको यादवले बताए ।

महोत्तरीभरिको वन सुरक्षाको कमाण्ड सशस्त्र वन सुरक्षा शाखालाई दिइएको छ । चोरी पैठारी भएको काठ बरामद भएर पाँच वर्षदेखि हालसम्म कुनै पनि मुद्दाको काठ लिलाम नभएको सशस्त्र वन सुरक्षा शाखाले जनाएको छ । सशस्त्र वन सुरक्षा शाखा परिसर र आसपासका जङ्गलमा वर्षौंदेखि राखिएका बहुमूल्य काठ कहिन थालेका छन् ।