भदौ २२, २०७९ बुधबार

काठमाडौँ । साउदी अरबमा अवैध बनेका ७८ जनालाई स्वदेश फर्कन स्थानीय प्रशासनले २६ अगस्टदेखि १ सेप्टेम्बर सम्मको अवधिमा बहिर्गमन भिसा दिएको रियादस्थित नेपाली दूतावासले जनाएको छ । 


साउदी अरेबियाको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाइएका वा नवीकरण नगरिएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा दूतावासले अनुरोध गरेको थियो । 


यस्तो भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु पर्ने साउदी नियम रहेको छ । 


बहिर्गमन भिसा प्रक्रिया निःशुल्क हुने भए पनि बहिर्गमन भिसा आइसकेपछि नेपाल फर्किने हवाइ टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।