भदौ २४, २०७९ शुक्रबार

काठमाडौँ । दशैं तिहारको मुखमा सरकारले सर्वसाधारणलाई राहत पुग्नेगरी नीतिगत निर्णय गरेको छ । खाने तेलको कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार महसुल घटाएर सरकारले उपभोक्तालाई फाइदा पुग्ने निर्णय गरेको हो ।


चालु आर्थिक वर्षका लागि बजेटमार्फत तय गरिएका करका दरहरू मन्त्रिपरिषद् बैठकले निर्णय गरेर घटाइएको छ । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू नयाँ तय गरिएको जानकारी दिएको छ ।


वनस्पति घ्यू तेल उद्योगहरूले औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्ने भन्सार उपशीर्षक १५०७ । १० । ०० को कच्चा भटमासको तेल, उपशिर्षक १५११ । १० । ०० को कच्चा पाम तेल र उपशीर्षक १५१२ । ११ । ०० को कच्चा सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्थाअनुसार कच्चा भटमासको तेल, पाम तेल र कच्चा सूर्यमुखी तेलको आयात गर्दा मूल्यको १० प्रतिशत भन्सार महसुल लाग्ने गरेकोमा अब मूल्यको १ प्रतिशत मात्रै भन्सार महसुल लाग्छ । 


यस्तै, सूर्यमुखीको गेडा आयात गर्दा लाग्ने भन्सार महसुल ५० प्रतिशतबाट बढाएर ९० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । भटमासको गेडा आयातमा पनि ९० प्रतिशत नै भन्सार महसुल छुट दिइएको छ भने तोरी, रायो, क्यानोला र सस्र्यूको गेडा आयातमा भन्सार महसुल ९० प्रतिशत हुने भनिएको छ । सूर्यमुखी, भटमास, तोरी, रायो, क्यानोला र सस्र्यूको गेडा आयातमा अबदेखि मूल्यको १ प्रतिशत मात्रै भन्सार महसुल लाग्नेछ । सरकारले करका दरहरु परिवर्तन गर्नुअघि गेडाको आयातमा मूल्यको ५ प्रतिशत भन्सार महसुल लाग्ने गरेको थियो ।