भदौ २९, २०७९ बुधबार

काठमाडौँ — अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जिरह गर्न पाउनुपर्ने भन्दै महाअभियोग सिफारिस समितिलाई आग्रह गरेका छन् । अधिवक्ता अर्यालले मंगलबार समितिलाई निवेदन पेस गरेका हुन् ।

यस्तै उनले निलम्बित प्रधानन्यायाधीश जबराको आरोपमाथि सत्यतथ्य छानबिनका लागि पनि माग गरेका छन् । आइतबार समितिसँगको बयानका क्रममा जबराले अधिवक्ता अर्यालकी श्रीमतीलाई न्यायाधीश नबनाएपछि अर्याल आफ्ना विरुद्ध सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा उजुरी दिएको आरोप लगाएका थिए ।

अधिवक्ता अर्यालले लेखेका छन्, 'उपरोक्त सम्बन्धमा महाअभियोगको आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सम्मानित समिति समक्ष बयान दिने क्रममा मलाई समेत लान्छना लगाई आरोपित गरेको हुँदा त्यसको सत्यताको जाँच गर्नका लागि सम्मानित समिति समक्ष उपस्थित भइ निजलाई जिरह गर्न पाऊँ भनी सादर निवेदन गर्दछु । साथै, सम्मानीत समितिको कठघराभित्र रहेको महाअभियुक्तले बिना रोकटोक अरुलाई अनेक आरोप लगाउन पाउने, तर निजद्वारा आरोपित हुन पुगेको पक्षले भने सफाइ पेस गर्ने मनासिव मौका नपाउने अवस्था नरहोस् भनी गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।'

निलम्बित प्रधानन्यायाधीश जबराले बयानका क्रममा अधिवक्ता अर्यालसहित अन्य थुप्रै कानुन व्यवसायी र राजनीतिक दलका नेताहरूमाथि गम्भीर आरोप लगाउँदै आएका छन् ।