असोज १३, २०७९ बिहिबार

अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानका कारण भारी वर्षा र बाढी आएको छ ।

बुधबार आएको यो तुफानलाई तीव्रताको आधारमा पाँचौं श्रेणीमा राखिएको छ र यसमा प्रतिघण्टा २५० किलोमिटरको गतिमा हावा चलिरहेको छ। 

तुफानको कारण असर पर्न सक्ने घरहरू खाली गर्न आदेश दिइएको छ। लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको छ। करिब १८ लाख मानिसको विद्युत् आपूर्ति रोकिएको छ। 

फ्लोरिडाका गभर्नर रन डिसेनटिसले बुधबार यो निकै खराब दिन भएको भन्दै मानिसहरूलाई प्रार्थना गर्न आग्रह गरेका छन्। 

अन्तर्राष्ट्रिय हरिकेन रिसर्च सेन्टरका एसोसिएट डायरेक्टर एरिक सालनाका अनुसार अहिले नै तुफानको क्षतिबारे कल्पना गर्न कठिन छ।

इतिहास हेर्ने हो भने हावाको कारण आउने पानीबाट धेरैको मृत्यु हुने गरेको छ।

फ्लोरिडाको पूरै पश्चिमी क्षेत्रमा तुफान तीव्र हुन सक्ने चेतावनी दिइएको छ। तुफानको कारण अमेरिकाको आन्तरिक र बाह्य गरी चार हजारभन्दा धेरै उडान रद्द गरिएको छ।