असोज २१, २०७९ शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य अपराधमा माफी दिने घोषणा गर्नुभएको छ ।

एक भिडियो सन्देशमा राष्ट्रपति बाइडेनले देशको संघीय कारागारमा गाँजा सेवन र राखेको आरोपमा थुनिएका सबैलाई रिहा गर्ने घोषणा गर्नुभएको हो ।

यो घोषणाबाट गाँजासम्बन्धी अपराधमा सजाय भोगिरहेका झण्डै ६ हजार ५ सय व्यक्ति लाभान्वित हुने बीबीसीले जनाएको छ ।

बाइडेनले गाँजा सेवन गरेको कसुरमा मात्रै जेल हाल्नु उचित नहुने समेत बताउनुभएको छ ।

बाइडेनले गाँजाको अवैध खरिद–बिक्री, व्यापार र कम उमेरमा हुने बिक्रीमा आवश्यक प्रतिबन्ध भने कायमै रहने बताउनुभएको छ । 

अमेरिकामा गाँजासम्बन्धी मुद्दा चुनावी एजेण्डासमेत हुँदै आएको छ । यसअघिको राष्ट्रपति चुनावमा बाइडेनले यो निर्णय गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।