असोज २६, २०७९ बुधबार

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले आफूलाई बलात्कारको धम्की आइरहेको र आफूले दिल्ली प्रहरीमा यसबारे उजुरी दिने बताएकी छिन् । वास्तवमा स्वाती मालिवालले रियालिटी शो बिग बोस सिजन १६ मा निर्देशक साजिद खानलाई सहभागी बनाएको विरुद्धमा सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरलाई पत्र लेखेकी थिइन् ।

पत्रमा उनले साजिद खानलाई शोबाट हटाउन माग गरेकी थिइन् । मालीवालले यो चिठी लेखेका कारण नै धम्की आइरहेको बताएकी छिन् । उनले ट्वीट गरेकी छिन्, ‘जबदेखि मैले साजिद खानलाई बिग बोसबाट बाहिर निकाल्न आईबी मन्त्रीलाई पत्र लेखेँ, तबदेखि मलाई इन्स्टाग्राममा बलात्कारको धम्की दिइँदै आएको छ । पक्कै पनि तिनीहरू हाम्रो काम रोक्न चाहन्छन् । म दिल्ली पुलिसलाई उजुरी दिन्छु, एफआईआर दर्ता गर्नुहोस् र अनुसन्धान गर्नुहोस्, यसका पछाडि रहेकाहरूलाई पक्राउ गर्नुहोस् ।’