असोज २८, २०७९ शुक्रबार

पाकिस्तानका अर्थमन्त्री इशाक डारलाई अमेरिकाको वासिङ्टन विमानस्थलमा दुर्व्यवहार गरिएको छ । यस घटनासँग जोडिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उनलाई विमानस्थलमा एक व्यक्तिले ‘झुटो’ र ‘चोर’ भन्दै सम्बोधन गरेका थिए ।

भिडियोमा एक व्यक्तिले मन्त्री इशाक डारलाई ‘झुटो’ भनेको सुनिएको छ । आफ्ना साथीहरूसँग त्यहाँबाट निस्किएका इशाक दारले पछाडि फर्केर व्यक्तिलाई भन्छन्, ‘तिमी झुटो हौ ।’ त्यसपछि ती व्यक्ति फर्केर भन्छन्, ‘तिमी चोर हौ ।’ यति भनेपछि डारसँगै भएका एक अधिकारि भड्किन्छन् र अपशब्द प्रयोग गरिरहेका व्यक्तिलाई गाली गर्न थाल्छन् । यसैबीच अरुले इशाक दारलाई त्यहाँबाट लैजान्छन् ।

यो पूरै घटना रेकर्ड गर्ने व्यक्ति पनि क्यामेरामा देखिएका छन् । यसअघि सेप्टेम्बरमा पाकिस्तानकी सूचना मन्त्री मरियम औरङ्गजेबलाई लण्डनको एउटा कफी पसलमा केही व्यक्तिले घेरेर उनको विरुद्धमा नारा लगाएका थिए । यसको एउटा भिडियो पनि बाहिर आएको थियो, जसमा केही व्यक्तिले मरियम औरंगजेबलाई ‘चोर’ भन्दै सम्बोधन गरेका छन् ।


इशाक डारलाई दुर्व्यवहार गर्ने व्यक्तिको पीटीआईसँग सम्बन्ध छ कि छैन भन्ने पुष्टि भएको छैन।

इशाक दार आईएमएफ र विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन वासिङ्टन पुगेका थिए । पाकिस्तान अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ र यसले आईएमएफबाट सहयोग पाउने अपेक्षा गरिएको छ ।