कात्तिक ३, २०७९ बिहिबार

संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर भ्रष्टाचार गरेको आरोप लागेको छ । सिरियास्थित उक्त कार्यालयका कर्मचारीले कोभिड–१९ को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा.अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरूपयोग गरेको आरोप लगाएका हुन् । 

एसोसिएटेड प्रेस (एपी) ले प्राप्त गरेको १०० भन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्ल्यूएचओका सिरिया प्रमुखले सिरियाली सरकारका उच्च पदस्थ राजनीतिज्ञहरूसँग सम्झौता गर्न कर्मचारीहरूलाई दबाब दिएकी तथा लगातर गलत ढङ्गले कोष र दाताहरूले दिएको रकम दुरूपयोग गरेको बयान दिएका भेटिएको छ । कर्मचारीहरूले अनुसन्धानकर्ताहरूलाई उनले भ्रष्टाचार गरेको बयान दिएका दस्तावेज  एपीले हात पारेको हो ।