काठमाडौँ । घरमा खसीको मासु पकाउने वा नपकाउने विषयमा भएको झगडाले एक जनाको ज्यान गएको छ ।
यो घटना भारतको मध्य प्रदेशस्थित भोपालमा मङ्गलबार भएको हो । भोपालका पप्पु अइरवार कामबाट फर्किने क्रममा घरमा खसीको मासु बोकेर आएका थिए । तर, उनकी पत्नीले मंगलबारको दिन मासु खान नहुने बताइन् । उनले उक्त मासु नपकाउने अड्डी कसिन् ।
ल्याएको मासु नपकाउने भनेपछि श्रीमान् र श्रीमतीबीच भनाभन भयो । झगडाले चर्को रूप लिएपछि आइपुग्छन् छिमेकी बिल्लु । उनी के कारणले झगडा भएको भनी बुझ्न आएका थिए । उनले श्रीमान्-श्रीमतीको झगडा साम्य पार्ने प्रयास पनि गरे । बिल्लु उनीहरूलाई शान्त पार्न सफल पनि हुन्छन् र आफ्नो घर लाग्छन् ।
तर, आफूहरूको निजी कुरामा हस्तक्षेप गरेको भन्दै पप्पु बिल्लुको घर जान्छन् । बिल्लुमाथि निर्घात कुटपिट गर्छन् । कुटपिटकै कारण बिल्लुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।