कात्तिक ८, २०७९ मंगलबार

पाकिस्तानी सेनाको आलोचकका रूपमा चिनिएका पाकिस्तानका एक चर्चित पत्रकारको देश छाडेको दुई महिनामा हत्या भएको छ । अर्शद शरिफकी पत्नी जाभेरिया सिद्धिकीले ट्वीट गर्दै उनको हत्या भएको जानकारी दिएकी छिन् ।

उनीमाथि देशद्रोहसहितका मुद्दा लगाएपछि पक्राउ पर्नबाट जोगिन ४९ वर्षीय पत्रकारले गत अगस्तमा मात्र पाकिस्तान छाडेका थिए । पूर्वप्रधानमन्त्री इमरानका खानका सहयोगी शहबाज गिलसँगको अन्तरवार्तामा गिलले सेनाविरुद्ध कथित रूपमा आपत्तिजनक टिप्पणी गरेको आरोप लगाइएको थियो ।

आफ्नो ज्यानविरुद्ध खतरा रहेको बताउँदै उनी दुबई पुगेका थिए भने त्यसपछि उनी केन्या पुगेका थिए । उनले आठ वर्ष काम गरेको एआरवाईले गत अगस्तमा उनलाई देशविरोधी सामग्री प्रशारण गरेको आरोप लगाउँदै हटाएको थियो ।    

पाकिस्तानको विदेश मन्त्रालयले शरिफको निधनप्रति दुःख व्यक्त गरेको छ । केन्याको मिडियाले प्रहरीले अर्के व्यक्ति ठानेर शरिफमाथि गोली चलाएको बताएको छ । यसबारे थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।
अल जजिरा