कात्तिक ८, २०७९ मंगलबार

काठमाडौँ । ऋषि सुनक बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राजा चार्ल्स तृतीयले सुनकलाई बेलायतको प्रधानमन्त्रीमा मंगलबार नियुक्त गरेका हुन् ।

कन्जरभेटिभ पार्टीका संसदीय दलका ४२ वर्षीय सुनक बेलायतको ५७ औँ प्रधानमन्त्री बनेका छन् । दलको नेतामा सोमबार नियुक्त भएपछि सुनकले मंगलबार बकिंघम प्यालेसमा राजा चार्ल्ससँग सरकार बनाउने दाबी पेश गरेका थिए । यसपछि राजा चार्ल्सले सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको बीबीसीले उल्लेख गरेको छ ।

सुनक संसद्को यो कार्यकालमा कन्जरभेटिभ पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने तेस्रो नेता हुन् । यसअघि बोरिस जोनसन र लिज ट्रस प्रधानमन्त्री बनेका थिए । यसअघि सेप्टेम्बर ६ मा ट्रसले दलको नेताको प्रतिस्पर्धामा सुनकलाई पराजित गर्दै प्रधानमन्त्री बने पनि गलत आर्थिक नीतिका कारण ४४ दिनपछि नै राजीनामा दिएकी थिइन् । त्यसपछि सुनक कन्जरभेटिभ पार्टीको नेतामा एक मात्र दाबेदार बनेपछि प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । भारतीय मूलका सुनक हिन्दू धर्मावलम्बी हन् ।