कात्तिक ९, २०७९ बुधबार

काठमाडौँ । बेलायतको एउटा पत्रिकाले त्यहाँका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकको सम्पत्ति बेलायतको राजाको भन्दा धेरै रहेको बताएको छ ।

द सन्डे टाइम्सका अनुसार बेलायतका सबैभन्दा धनी २५० जनाको यस वर्षको सूचीमा सुनक र उनकी श्रीमती अक्षता मुर्थी छन् । सुनक र उनकी श्रीमतीको सम्पत्ति ७३ करोड पाउन्ड छ । उनीहरू बेलायती धनाढ्यको सूचीमा २२२ औं स्थानमा छन् । कसैले भने उनीहरूको सम्पत्ति ८२ करोड पाउन्डभन्दा धेरै भएको बताउँछन् । 

मुर्थी बेलायतको सबैभन्दा धनी महिलामा पर्छिन् । उनी भारतीय उद्योगपति र इन्फोसिस कम्पनीका संस्थापक एनआर नारायण मुर्थीकी छोरी हुन्। सुनकभन्दा उनकी पत्नी धेरै धनी छिन् । इन्फोसिसमा अक्षताको शून्य दशमलव ९ प्रतिशत शेयर छ । यो भनेको ६९ करोड पाउन्ड बराबर हो । 

राजनीतिमा आउनुअघि सुनकले लगानी बैंक गोल्डम्यान श्याख्समा काम गरेका थिए । उनले हेज फन्डमा पनि पार्टनर थिए । यसबाट पनि उनले राम्रै कमाएका थिए । सुनक दम्पत्तिसँग बेलायत र अमेरिकामा चार ओटा घर छन् । उनीहरूको सबैभन्दा ठूलो सम्पत्ति उत्तरी योर्कसायरस्थित किर्बी सिङ्सटनमा रहेको मानोर हाउस हो । यो घर उनीहरूले सन् २०१५ मा २३ लाख डलरमा किनेका थिए । एजेन्सी