कात्तिक १४, २०७९ सोमबार

किन्सासा – प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी सहर किन्सासाको एउटा रंगशालामा भएको भागदौडमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

८० हजार दर्शक क्षमता भएको शहिद रंगशालामा भागदौड हुँदा २ प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको गृहमन्त्री डेनियल एस्लो ओकिटोले बताएका छन् । ‘दुई प्रहरीसहित ११ जनाको मृत्यु भएको छ’, गृहमन्त्री ओकिटोले भने । क्षमताभन्दा बढी दर्शकका कारण उक्त दुर्घटना भएको जनाइएको छ ।

‘आयोजकहरूले क्षमताभन्दा शतप्रतिशत दर्शक राखेको पाइएको छ ।  उनीहरुलाई सजाय दिनुपर्छ’, ओकिटोले भनेका छन् । अक्टोबरमा रंगशालामा भागदौड भएको यो दोस्रो घटना हो ।

यसै महिनाको सुरुमा इन्डोनेसियाको जाभा प्रान्तमा भागदौड हुँदा १२५ जनाको मृत्यु हुनुका साथै केही घाइते भएका थिए भने हालै दक्षिण कोरियामा भएको भागदौडमा १५० भन्दा बढी मानिसको मृत्यु भएको थियो।