कात्तिक २२, २०७९ मंगलबार

कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मका संस्थापक गुरू नानक देवको जन्म भएको मानिन्छ । यसपालि यो दिन कार्तिक २२ गते पर्छ । यो उनको ५५३ औं जन्म जयन्ती हो । धार्मिक जनसंख्याको हिसाबले सिख धर्म विश्वमा पाचौँ र नेपालमा दशौं स्थानमा पर्छ । तर धेरै नेपालीलाई सिख धर्म र सो धर्मका संस्थापक गुरू नानक देवको विषयमा कमै मात्र ज्ञान छ ।


 आजभन्दा पाँच शताब्दीअघि जुनबेला गुरू नानकले सिख धर्मको सुरुवात गरे,त्यसबेला हिन्दू,मुस्लिम र बौद्ध सबै गुरू नानकको उपदेशबाट अत्यन्तै प्रभावित भएका थिए । उनी नेपाल पनि आएका थिए । नेपालका विभिन्न भागसँगै काठमाडौंमा पनि बसेका थिए । 


जसरी गौतम बुद्धले उत्तर भारतभर घुमेर आफ्नो सन्देश प्रवाह गर्दै हिँडेका थिए,त्यसरी नै गुरू नानक पनि भारतका विभिन्न भागसँगै नेपाल र तिब्बत पनि पुगेर धर्मोपदेश गर्दै हिँडेका थिए । त्यसैले अहिले कमै मात्र नेपाली उनीसित परिचित रहे पनि त्यसबेलाको नेपाली समाज गुरू नानकसित राम्ररी परिचित थिए ।


गुरू नानक काठमाडौंमा बालाजु,शोभा भगवती,ज्ञानेश्वर आदि स्थानमा बसेका थिए । मल्लकालदेखि शाहकालसम्मका राजाहरु पनि उनीबाट प्रभावित थिए । मल्लकालमै उनका मठको लागि ठाउँ ठाउँमा सयौं रोपनी जग्गा राज्यले प्रदान गरेको थियो ।


महारानी राजराजेश्वरीको कक्षमा उनको तस्बीर झुण्ड्याएको पाइन्छ । यसको एक मात्र कारण उनको आध्यात्मिक व्यक्तित्वको अलौकिक प्रभाव थियो । उनी त्यस्ता थोरै सन्तहरूमा पर्छन्,जसलाई हिन्दू,मुसलमान र बौद्ध सबैले उत्तिक्कै आदर गर्थे । के भारतीय,के नेपाली,के तिब्बती,सबै समाजले पनि उनलाई उच्च तहको सन्तको रूपमा चिन्थे ।


उनको समयमा भारतमा हिन्दू र मुस्लिमबीच चर्को द्वन्द्व चलिरहेको अवस्था थियो । तर अनौठो कुरा के छ भने उनका उपदेश दुवै धर्मावलम्बी मुग्ध भई सुन्थे । त्यसैले एउटा कहावत नै प्रचलित भयो—

बाबा नानक शाह फकीर

हिन्दू का गुरू, मुसलमान का पीर

अर्थात्,गुरू नानक फकीरहरूका राजा हुन् । उनी हिन्दूका लागि गुरू र मुसलमानका लागि पीर (सन्त) हुन् । बौद्धहरूले उनको उपदेश सुनेपछि उनलाई ‘रिम्पोछे’ मानेका थिए । गुरू नानकलाई तिब्बतमा गुरू गोम्पका महाराजको नामबाट बौद्ध सन्तको रूपमा चिनिने गरेको कुरा दलाई लामाले स्वीकारेका छन् ।

गुरू नानकको जीवन

विभिन्न प्रमाणहरूका अनुसार गुरू नानकको जन्म वैशाख पूर्णिमा (बुद्ध जयन्ती) को दिन भएको देखिन्छ । तर,परम्पराअनुसार उनको जन्मदिन कार्तिक पूर्णिमाको दिन मनाइँदै आएको छ । विश्वभरका सिखहरू यो दिन आफ्ना गुरूको जन्मदिनको रूपमा धुमधामसाथ मनाउँछन् ।

नानक आमा तृप्ता देवी र बुबा कल्याणचन्द दास वेदीका दोस्रो सन्तानको रूपमा जन्मेका थिए । उनी जन्मेको स्थान हाल पाकिस्तानको पञ्जाब प्रदेशमा पर्छ र सो स्थानलाई उनकै कदर स्वरूप नानकाना साहिब नामकरण गरिएको छ ।

सानैबाट अध्यात्मतिर उनको झुकाव थियो,साथै विद्रोही स्वभाव पनि थियो । सात वर्षको उमेरमा उनलाई शिक्षकले एक (१) अंक सिकाउँदा उनले एक मात्र ईश्वर (परमसत्य) रहेको व्याख्यान दिए । पछि गएर सिख धर्मको मूल मन्त्र नै “एक ॐकार सत्नाम” भयो । नौ वर्षको उमेरमा जब ब्राह्मणले उनलाई जनै लगाइदिन आए,उनले ब्राह्मणलाई सोधे,“पवित्रता धागोमा अडिएको हुन्छ कि कर्ममा ?” उनले जनै स्वीकार गरेनन् ।

अठ्तीस वर्षको हुँदा एक रात उनी नदीमा पसेका थिए । तर,उनी ननिस्केपछि मानिसहरू चिन्तित भए । मानिसहरूले सोचे कि उनलाई नदीले बगायो होला । हिन्दू,मुस्लिम सबै मिलेर उनको खोजी गरे । किनभने त्यसबेलासम्म उनमा विशेष आध्यात्मिक गुण रहेकोमा हिन्दू र मुस्लिम दुवै विश्वस्त भइसकेका थिए । उनी दुवै समुदायबीच प्रिय थिए । तर जति खोजी गर्दा पनि नदीमा हराएका उनी भेटिएनन् । तीन दिनपछि पूर्णिमाको दिन उनी एकाएक नदीबाट निस्के । तर त्यसबेलासम्म उनी अर्कै मान्छे भइसकेका थिए ।

उनका साथीहरूले उनलाई घेरेर अनेक प्रश्नहरू सोधे । तर उनलाई लाग्यो,“यस्ता मान्छेहरूसँग कुरा गरेर केही फाइदा छैन ।” त्यसैले उनले उनीहरूतर्फ केही ध्यान दिएनन् । अनि मानिसहरूले भन्न थाले,“नानक राम्रो मान्छे थियो । तर,अब यो कि त बहुलाएछ,कि यसलाई बोक्सी चढेछ ।” 

नानकले भने,“मलाई प्रभूको नशा चढेको छ । त्यसैले,म बहुलाएको छु ।”

अनि फेरि मानिसहरूले सोधे,“हामीलाई थाहा भएसम्म दुइटा मार्ग छन्– हिन्दू र मुस्लिम । तिमी कुन मार्गमा जाँदैछौ ?

उनले उद्घोष गरे,“हिन्दू भन्ने पनि छैन,मुस्लिम भन्ने पनि छैन ।”

सामाजिक अधर्मका विरोधी

मानिसहरू उनलाई धार्मिक समन्वयकर्ता पनि भन्छन् । उनको मानवप्रतिको विभेदरहित व्यवहार र प्रेमपूर्ण उपदेशको कारण अवश्य पनि धार्मिक सहिष्णुता फैलिन गएको थियो । तर उनी धार्मिक समन्वयकर्ता वा समाज सुधारकभन्दा पनि मुक्तिका पथप्रदर्शक थिए ।

सत्यको प्रत्यक्ष दर्शन भएपछि समाज सुधारको काम सहायक रूपमा आफैं हुँदो रहेछ । उनी त्यसबेलाका सन्त कवि कबीर दास,रैदास आदिजस्तै जातीय र अन्य विभेदका विरूद्ध सशक्त रूपमा उभिएका थिए ।

महिला समानतामा सिख धर्म जति अग्रगामी छ,अरू कुनै धर्म छैन । पश्चिममा नारीवाद त धेरै पछि मात्रै आएको हो । तर,गुरू नानक र सिख धर्मले पाँच सय वर्षअघि नै सांसारिक र धार्मिक दुवै पक्षमा पूर्ण नारी समानताको वकालत गर्ने र व्यवहारमा लागू गर्ने साहस गरिसकेको थियो ।

सिख धर्मको मूल ग्रन्थ ‘गुरू ग्रन्थ साहिब’मा भनिएको छ,“संसारमा ठूलाभन्दा ठूला महापुरुष पनि महिलाकै गर्भबाट आउँछन् भने महिलालाई कसरी कमसल भन्न मिल्छ ?”

उनकै प्रेरणाले उनी पछिका सिख गुरूहरू पनि सती प्रथा,दहेज प्रथा,पर्दा प्रथा,बहुविवाह र बालविवाहको विरुद्ध निरन्तर प्रहार गरिरहे । त्यसैले पनि भारतमा अन्य समुदायका महिलाको तुलनामा सिख महिला शिक्षा र व्यवसायमा धेरै अगाडि छन् । हेर्दा पनि सिख महिला बढी आत्मविश्वासी र हिम्मतिला देखिन्छन् भने यसमा आश्चर्य मान्नुपर्ने कुनै कुरा छैन ।

गुरू नानक धर्मको नाममा गरिने कर्मकाण्डको पनि उत्तिकै विरोधी थिए । तीर्थाटन,गंगास्नान,मूर्तिपूजा आदि सबै किसिमका धार्मिक अनुष्ठानको उनले घोर विरोध गरे । उनको ईश्वर वा परमसत्य निरञ्जन,निराकार छ । त्यसैले उनको दर्शन एकेश्वरवादी मुस्लिम,निर्गुण ब्रह्मवादी हिन्दू र शून्यवादी बौद्ध सबैलाई स्वीकार्य भयो ।

केही चमत्कारहरु

गुरू नानक चमत्कारका पक्षपाती त थिएनन् । तर सबै महात्माहरुको जीवनमा जस्तै उनको जीवनमा पनि केही चमत्कारका घटना भएका छन् ।

लद्दाखमा पत्थर साहिब गुरूद्वारा छ,जहाँ बौद्ध र सिख दुवै बराबर श्रद्धासाथ जान्छन् । यसको कहानी विचित्रको छ । लद्दाखमा सन् १९७० मा लेह–निमु बाटो बनाउन लाग्दा बौद्ध ध्वजा,पताकाले बेरिएको एउटा अजंगको ढुंगा फेला पर्छ । बाटो बनाउनलाई डोजरले त्यो ढुंगा हटाउन खोज्दा टसमस पनि भएन,बरु अन्तिममा डोजर नै बिग्रियो ।

सोही रात डोजर चालकले सपनामा एउटा आवाज सुने,जसमा त्यो ढुंगा नहटाउन भनिएको थियो । सो कुरा उनले बाटो बनाउन खटेका सैनिक अफिसरलाई सुनाए । तर,अफिसरले त्यसलाई गम्भीर रूपमा लिएनन् । फेरि ढुंगा हटाउने प्रयास भयो,तर त्यो दिन पनि सफल भएनन् ।

साँझ भएपछि सैनिक अफिसरले डाइनामाइट पड्काएर ढुंगा फोड्ने तयारी गर्ने आदेश दिए । सो रात सैनिक अफिसरले पनि त्यस्तै सपना देखे,जसमा सो ढुंगा नहटाउन भनिएको थियो । तर सैनिक अफिसरले आफ्नै सपनालाई पनि गम्भीर रूपमा लिएनन् । संयोगवश सो दिन आइतबार परेकोले काम भएको थिएन । र,त्यही दिन दिउँसो कयौं लामा र बौद्ध उपासकहरू आएर सो ढुंगा उनीहरूले नानक लामाको नामबाट पुज्ने गरेको बताए ।

सो ढुंगा र गुरू नानकको अनौठो सम्बन्ध छ । उनी सिक्किम,नेपाल,तिब्बतको यात्रापछि लद्दाख हुँदै पञ्जाब फर्किरहेका थिए । स्थानीय श्रुतिअनुसार गुरू नानक लद्दाखमा रहँदा दैनिक धार्मिक प्रवचन दिन्थे । त्यहाँका बौद्धहरू उनको उपदेश सुनिरहन्थे । तब एउटा राक्षसलाई नानकको लोकप्रियतादेखि रिस उठ्यो । एक दिन त्यो राक्षसले पहाडबाट ठूलो ढुंगा नानकको पछिल्तिर खसाल्यो । नानक अलिकति पनि विचलित नभई उपेदश दिइरहे ।

जब सो ढुंगा नानकको नजिक आइपुग्यो,तब ढुंगा नरम मैनमा बदलियो । नानकको पछाडिको भागमा लाग्दा ढुंगामा नानकको शरीरको निशाना रहन गयो । त्यहाँ सोही ढुंगा नानक लामा वा पत्थर साहिब भनेर पुजिने गरेको छ ।

नानकको जीवनमा धेरै अलौकिक घटना भएका छन् । तिनमा एक हो ज्ञानेश्वरको ज्ञानधारा । गुरू नानक ज्ञानेश्वरमा रहँदा उनलाई त्यहाँका बासिन्दाले पानीको दुःख रहेको बताएका थिए । तब उनले आफ्नो कृपाणले खोपेर त्यहीँ पानीको धारा छुटाएको हो भनिन्छ ।

गृहस्थ धर्मका पक्षपाती

गुरू नानक आध्यात्मिक हुँदै पनि उनले कहिल्यै संन्यासी जीवनको समर्थन गरेनन् । परिवारमै बसेर मुक्ति प्राप्त गर्न सकिने कुरामा उनले जोड दिए । त्यसैले उनी पनि विवाहित थिए र उनका दुइ छोरा थिए । तर उनको दर्शनको विपरीत उनको जेठो छोरा श्रीचन्दले संन्यासी जीवन अंगाले र उदासी मतको स्थापना गरे । उदासीका आश्रमहरू नेपालमा पनि छरिएका छन् ।

 उनको कान्छो छोरा लक्ष्मीचन्द सांसारिक मात्र भए । गुरू नानकले सुझाएको जीवन–पथ व्यावहारिकता र आध्यात्मिकताको सन्तुलित बाटो हो । त्यसैले गुरू नानकले आफ्ना दुवै छोरालाई आफ्नो उत्तराधिकारी बनाएनन् । गुरू नानकपछि गुरू अंगद उनका उत्तराधिकारी भए ।

गुरू नानक उच्च कोटीका कवि पनि थिए । उनको रचनामा सूफी कविताको सुवास पाइन्छ । उनका कविताहरू सिख धर्मको ग्रन्थ ‘गुरू ग्रन्थ साहिब’मा सुरक्षित छन् । ‘गुरू ग्रन्थ साहिब’ अर्थात् सिख धर्मको एघारौं तथा अजम्मरी गुरू उनको कविताबाट यसरी सुरू हुन्छ—

लाख सोचे पनि ‘त्यो’ (परमसत्य) सोचमा अटाउँदैन ।

नबोलीकन बस्दैमा मात्र पनि अन्तरमौन पाइँदैन ।

संसार सम्पूर्णै पाए पनि भोकोको भोक (तृष्णा) मेटिँदैन ।

चालाखीका लाखौं चाल मर्ने बेला एउटै काम लाग्दैन ।

आध्यात्मिक झुकाव भएका हरेक व्यक्तिले एक पटक पढ्नैपर्ने ग्रन्थ हो– गुरू ग्रन्थ साहिब ।
आर‍. मानन्धर