झापाका व्यवसायीले बैंक तथा वित्तीय क्षेत्रले वृद्धि गरेको व्याजदर फिर्ता गरिनुपर्ने लगायतका मागसहित आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, प्रोपर्टी डिलर्स एसोसिएशन अफ नेपाल, इक्यान र बिर्तामोड उद्योग वाणिज्य संघलगायतका जिल्लामा रहेका विभिन्न संघ संगठनका पदाधिकारी तथा प्रतिनिधिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।
व्यवसायीले जिल्ला प्रशासन कार्यालय झापामा विरोध प्रदर्शन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । विरोध सभामा नेपाल उद्योग वाणिज्य संघ १ नम्बर प्रदेशका अध्यक्ष टिकाराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतले बोलेका छन् ।
उनीहरूले बैंकले वृद्धि गरेको व्याजदरका विषयमा मंगलबारबाट १ नम्बर प्रदेश भरी शान्तिपूर्ण आन्दोलनका कार्यक्रम गरेका छन् । त्यस्तै बुधबार २३ गते बैंकसँग कुनै पनि कारोबार नगर्ने तथा दुई घण्टा प्लेकार्डसहित मौन जुलुस गर्ने, २५ गते मुख्यमन्त्री एवं नेपाल राष्ट्र बैंकमा प्लेकार्डसहित धर्ना दिने तथा ज्ञापनपत्र दिने कार्यक्रम रहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डालमियाले बताए ।