मंसिर १, २०७९ बिहिबार

 सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै ५ करोडभन्दा बढी नाफा कमाउन सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणमा ५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको उल्लेख गरेको छ ।

नाफा कमाए पनि अघिल्लो वर्षको सोही अवधिको भन्दा यो वर्षको नाफा कम नै देखिन्छ । अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अर्थात् अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ५।६५ प्रतिशतले ह्रास आएको हो ।  

कम्पनीको खुद बीमाशुल्क भने ३०।१५ प्रतिशतले बढेर ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३० करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड २७ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब २० करोड ९९ लाख रुपैयाँ र महाबिपत्ति कोषमा ९ करोड ७६ लाख रुपैयाँ सञ्चित छ ।