मंसिर १५, २०७९ बिहिबार

मुस्ताङबाट यसबर्ष ५० करोड रुपैयाँभन्दा बढीको स्याउ बिक्री भएको छ । मुस्ताङमा उत्पादन भएको ६ हजार ६०० मेट्रिक टन मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक टन स्याउ निकासी भई कृषकहरुले रु ५० करोड भन्दा बढी आम्दानी गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।


कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार मुस्ताङबाट सरदर प्रतिकिलो ११० रुपैयाँमा बिक्री भएको स्याउबाट यस वर्ष यहाँका कृषकले रु ५० करोड ८२ लाख आम्दानी गरेका हुन् ।

गत भदौमा प्रतिकिलो रु १०० का दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मंसिरको पहिलो साता आइपुग्दा प्रतिकिलो एक सय २० देखि ३० सम्म भएको छ । सरदर प्रतिकिलो रु ११० का दरले स्याउ बिक्री भएको कृषकहरुले बताएका छन् ।

केन्द्रका प्रमुख बस्ताकोटीले गत वर्षको तुलनामा यसपालि १८ दशमलव ५६ प्रतिशतले स्याउ उत्पादन बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बगंैचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो, अनुकुल मौसमले उत्पादकत्व, क्षेत्रफल र नयाँ विरुवा थपिएकाले उत्पादन बढेको हो । कूल ५८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटले उत्पादन दिएको छ ।’

जिल्लाका पाँच वटै स्थानीय तहमा स्थानीय रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती गरिएको छ । उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी भएको छ । जिल्लाको पाँचवटै स्थानीय तहमा एक हजार ४ सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको केन्द्रले जनाएको छ ।

मुस्ताङ घुम्न जाने पर्यटक, तिर्थयात्रीहरुले स्याउ कोशेलीका रुपमा लैजान्छन् । साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई कृषकहरुले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन् । स्याउ प्रशोधन गरेर मदिरा बनाउने ६ वटा उद्योग छन् ।

समुन्द्री सतहदेखि करिब २५ सय मिटर अग्लो उचाई भन्दा माथि स्याउ खेती गरिन्छ । मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुने गर्छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृषि अधिकृत नेत्र भट्टले बेमौसममा बिक्री गर्नका लागि मुस्ताङको विभिन्न छ चिस्यान गृहमा करिब ७० मेट्रिक्टन स्याउ भण्डारण गरेर राखिएको बताउनुभयो । फागुन चैतको ‘बेसिजन’ मा चिस्यान केन्द्रको स्याउ बजारमा पठाउँदा बढी मूल्य पाउने भएकाले भण्डारण गरेका हुन् ।

परियोजनाले स्याउ जोन कार्यक्रम अन्तर्गत १२५ सहकारी÷समूह÷निजी फर्मका कार्यक्रम सञ्चालित छन् । कृषि केन्द्रले स्याउ विशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । मुस्ताङमा फलेकामध्ये ७० प्रतिशत स्याउ बाहिर निर्यात हुने गरेको छ भने बाँकी जिल्लामै खपत हुने गर्छ । बर्सेनि व्यापारीहरू स्याउ नपाक्दै खरिदका लागि आउने गर्छन् । भदौ महिनामा बैनापट्ट गरेर गएका व्यापारी असोज लागेपछि स्याउ टिप्न आउँछन् ।