असार २६, २०८३ शुक्रबार

किमाथाङ्का (सङ्खुवासभा), २६ असारः सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि  माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल्लो भेगमा साउनको अन्तिम सातासम्म रोपाइँ भइसक्नेमा यस वर्ष सिँचाइ सुविधा अभाव, पहाडी क्षेत्रमा भइरहेको खण्ड वृष्टिलगायत कारणले रोपाइँ प्रभावित भएको हो ।

    सिँचाइ अभावका कारण हालसम्म २५ प्रतिशत मात्र रोपाइँ सकिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सरोज राईले बताउनुभयो । माथिल्लो भेगमा रोपाइँ सकिए पनि तल्लो बेँसी भेगमा धानका बीउ ब्याडमै थन्किएका उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार जिल्लामा कुल आठ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ ।

    ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा ३१ हजार ५९६ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जिल्लाको तल्लो भेगका कतिपय ठाउँमा भर्खरै रोपाइँ सुरु गरिएको छ भने केही ठाउँमा असार लागेसँगै धान रोप्न थालिएको थियो ।

    जिल्लाका खाँदबारी नगरपालिकाभित्रका सेकाहा, पाङ्मा, मरुवा, हेलुवाबेँसी, चन्दनपुर, चेवाबेँसी, कल्चेबेँसी, पाङ्ठाबेँसी, पिप्लेबेँसी, माल्टाबेँसीलगायत क्षेत्रमा धानखेती गरिँदै आइएको सूचना अधिकारी राईले जानकारी दिनुभयो । उहाँका अनुसार मादी र धूपू क्षेत्रमा उत्पादन बढी हुन्छ ।

    साथै मकालु गाउँपालिकाको हेदाङगना, पाँचखपन नगरपालिकाको वाना र होक्से तथा चैनपुर नगरपालिकाभित्रका भण्डारीडाँडालगायत क्षेत्रमा धानखेती गरिन्छ । यहाँ अट्टे, बेलगुठी, खुमलचार, राधाकृष्ण, सानोमसिना, कालधानलगायत जातका धानखेती गरिने सूचना अधिकारी राईले बताउनुभयो ।

    तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

    जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालयले तीन महिनामा ११० जना सेवाग्राहीको घरमा पुगेर राहदानी हस्तान्तरण गरेको हो ।

    सङ्घीय सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअनुसार सरकारी सेवा घरघरमै उपलब्ध गराउने लक्ष्यअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गरी  राहदानी, सवारी चालक अनुमतिपत्रलगायत सरकारी कागजात घरघरमै पुर्‍याउने अभियान सुरु गरिएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार घरदैलोमा राहदानी बुझ्ने दर्ता फारम भरेका सेवाग्राहीको राहदानी जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइएको हो । सरकारको सेवा जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यसहित पाँच चरणमा ११० जना सेवाग्राहीको घरमा पुगेर राहदानी हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

    राहदानी वितरणमा हुलाक सेवाको प्रयोग गरिएपछि सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुनुका साथै समय र खर्च बचत पनि हुने सहायक प्रजिअ कार्कीले बताउनुभयो । यो सेवा लिन चाहने सेवाग्राहीले हुलाक शुल्कबापत रु ५५ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने हुन्छ ।

    भौगोलिक रूपमा विटक र सडक सञ्जाल नजोडिएका ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक, महिला, विद्यार्थी तथा वैदेशिक रोजगारीको तयारीमा रहेका सेवाग्राहीका लागि यो अभियान उपयोगी हुने जिल्ला हुलाक कार्यालका प्रमुख अशोक राईले बताउनुभयो । 
---