बैशाख २२, २०७८ बुधबार

काठमाडौं । नारायणीदेखि महाकालीसम्मको डिजिटल नापी कार्य प्रारम्भिक रुपमा शुरु भएको छ । नापी विभागले त्रि आयामिक भौगोलिक स्वरूप र अर्थ फोटो फोटो नक्सा तयार पार्नका लागि यस्तो प्रविधिको लाइडर सर्वेक्षण शुरु गरेको छ ।

मङ्गलवार रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थल आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले लाइडर सर्वेक्षणको शुभारम्भ गर्दै डिजिटल नेपाल निर्माणमा सर्वेक्षणले प्रभावकारिता ल्याउने बताए । मन्त्रालयका सचिव टेकनारायण पाण्डेले भैरहवा, नेपालगन्ज र धनगढी गरी तीन वटा प्वाइन्टबाट पहिलो चरण सर्वेक्षण गरिने बताए ।

विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार पश्चिम तराईका जिल्लाहरूको लाइडर सर्वेक्षण सुरु गरिएको छ । हवाई फोटो ग्राफबाट डाटा सङ्कलन गर्ने कार्यलाई लाइडर सर्वेक्षण भनिने र यसरी तयार पारिएका फोटा डिजिटल टेरैन मोडलका हुने उहाँको भनाइ छ ।
नापी विभागका अनुसार यसअघि फिल्ड सर्वेक्षण गरिसकिएको छ । हवाई जहाजबाट भने पहिलो चरणमा कञ्चनपुरदेखि चितवनसम्मको २० हजार वर्ग किलोमिटर क्षेत्रको लाइडर सर्वेक्षण गरिनेछ । चालु आर्थिक वर्षमा पहिलो चरणको सर्वेक्षण सक्ने योजना बनाइएको छ । आउने वर्ष दोस्रो चरणमा पूर्वी तराईका जिल्लाहरूको सर्वेक्षण गरिनेछ ।

पहिलो चरणको सर्वेक्षणका लागि फ्रान्सबाट जहाजसहितको विशेषज्ञ टोली आएको छ भने आर्थिक सहयोग पनि गरेको छ । जहाजमा स्याटलाइट क्यामेरा जडान गरी फोटोहरू खिचेर डाटा सङ्कलन गरिने छ । दोस्रो चरणको लाइडर सर्वेक्षणका लागि जापानको जाइकाले सहयोग गर्ने जनाइसकेको छ ।