जेठ ५, २०८३ मंगलबार

जेनेभा, ५ जेठ : विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला प्रकोप बारे चिन्ता व्यक्त गर्नु भएको छ ।  उहाँले पछिल्लो समयमा युगान्डामासमेत फैलिरएको इबोला प्रकोपका कारणले १३१ जनाको मृत्यु भएको बताउनुभएको छ ।

डब्ल्यूएचओका प्रमुख गेब्रेयससले यस अघि आइतबार इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपतकाल (पीएचईआईसी) घोषणा गर्नु भएको थियो ।
 
जेनेभामा विश्व स्वास्थ्य सभामा बोल्दै उहाँले इबोलाको महामारीको परिमाण र गतिको बारेमा चिन्तित रहेकाले आतपकालको घोषण गरेको जनाउनु भएको छ ।

उहाँले आवाश्यक सल्लाहका लागि मङ्गलबार पछि एजेन्सीको आपतकालीन समिति बोलाउने बताउनु भएको छ । 

कङ्गोका स्वास्थ्य मन्त्रीले गत हप्ताको अन्त्यमा घोषणा गरिएको इबोला प्रकोपबाट १३१ जनाको मृत्यु  भएको उल्लेख गर्दै ५१३ जना सङ्क्रमित  भएको बताउनु भएको छ  । 


कङ्गोको उत्तरपूर्वी इटुरी प्रान्तमा अहिले सम्म ३० जना इबोला संक्रमित भएको पुष्टि भएको टेड्रोसले बताउनुभएको छ ।

युगान्डाले पनि डब्लूएचओलाई राजधानी कम्पालामा दुई जनामा सङ्कमण पुष्टि भएको  जानकारी दिएको छ, जस मध्ये  एक जनाको मृत्यु भएको डब्लुएचओको वार्षिक बैठकमा बताइएको छ ।

उहाँले एक जना अमेरिकी नागरिकमा सङ्कणको रिपोर्ट सकारात्मक पुष्टि भए पछि  जर्मनीमा सारिएको अमेरिकाले रिपोर्ट गरेको बताउनुभएको छ ।  

सङ्क्रमणको पुष्टि भएका मामिलाहरूको सङ्ख्या र क्षेत्र बढ्दै जाँदा सङ्क्रमितको सङ्ख्या अझै बढ्ने बताउदै  टेड्रोसले सङ्क्रमण पत्ता लगाउने  प्रयोगशाला र परीक्षणलाई सुदृढ पार्नु  आवाश्यक रहेको बताउनुभएको छ ।

उहाँले कम्पाला लगायतका सहरी क्षेत्रहरूका, साथै कङ्गोली सहर गोमामा सङ्क्रमणका घटनाहरू रिपोर्ट गरिएको बताउदै यस क्षेत्रमा उल्लेखनीय जनसङ्ख्याको आवागमन भएको पनि औंल्याउनु भएको छ । 

इटुरी प्रान्त अत्यधिक सङ्मणबाट असुरक्षित रहेको बताउदै उहाँले पछिल्लो समयमा  बढ्दो द्वन्द्वले यस क्षेत्रमा एक लाख  भन्दा बढी मानिसहरूलाई नयाँ विस्थापित भएको बताउनुभएको छ । 

उहाँले स्वास्थ्य कार्यकर्ताहरूको समेत इबोला सङ्क्रमणको कारण मृत्यु भएको रिपोर्ट गरिएको उल्लेख गर्नु भएको छ ।

टेड्रोसले महामारी बुन्डिबुग्यो स्ट्रेन, “इबोला भाइरसको एक प्रजाति भएको बताउदै यसको लागि कुनै खोप वा उपचार नभएको कारणले उच्च सतर्कता अपनाउनु पर्ने बताउनु भएको छ ।