बैशाख २२, २०७८ बुधबार

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाको दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् ।
समावेशी र दिगो आर्थिक पुनरुत्थानको मार्गमा महामारीको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ, दक्षिण एसियाली सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरूको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने “अर्थतन्त्रको उत्थानशीलता कायम गर्दै परिस्थितिलाई हर सम्भव वशमा राख्ने प्रयत्नका बावजुत निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपूर्ण नै रहेका छन् ।”

आशातीत रुपमा आर्थिक पुनरुत्थान प्रक्रियाको पाटोमा अगाडि बढिरहेका बेला कोरोनाको  दोस्रो लहरबाट निक्कै ठुलो धक्का पुर्‍याएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले  पर्यटन, अन्य सेवाहरू र उत्पादन क्षेत्रमा गम्भीर असर पुगेको बताए ।

कोरोनाको विस्तारित प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारीमा व्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिबिम्बित भएको देखिन्छ, उनले भने “यसै गरी समावेशी वृद्धि, मानव विकास र गरिबी निवारणका हाम्रा प्रयासहरूमा चुनौती थपिदिएको छ। गरिब एवं जोखिम समूह बढी प्रभावित भएको देखिदा यसले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम हामी समक्ष अझै विद्यमान छ।”
कोरोनाको महामारीले स्वास्थ्य, शिक्षा र मानव जीवनका समृद्धिका समग्र पक्षलाई निरन्तर प्रताडित बनाइरहेको उल्लेख गर्दै उनले जीवन र जनजीविकालाई बचाउन विश्वव्यापी ऐक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको बताए ।

अन्तर सम्बन्धित वर्तमान विश्वका सबै ठाउँका सबै व्यक्ति सुरक्षित भएको सुनिश्चित गर्नु आवश्यक भएको धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले जनस्वास्थ्यमा आएको यस्तो सङ्कटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा बस्तुको रुपमा लिइने विश्वास व्यक्त गरे । साथै उनले थपे खोपको आपूर्तिमा सबै देशले सहज रुपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको छ । कोरोनाविरुद्धको खोपको उत्पादन र आपूर्तिका लागि भारत सरकारप्रति आभार प्रकट गर्दै अर्थमन्त्री पौडेलले त्यसले सार्क क्षेत्रभित्र खोप अभियान शीघ्र रूपमा सञ्चालन गर्ने प्रयासलाई सम्भव बनाएको धारणा व्यक्त गरे ।