काठमाडौँ, १० असोज : लुनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले यस वर्ष पनि विभिन्न स्रष्टालाई सम्मान गर्ने भएको छ ।
विगत तीन दशकदेखि प्रदान गर्दै आएको सो सम्मानका लागि स्रष्टाको नाम आज घोषणा गरिएको साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार विगतका वर्षझैँ शिरोमणि बाबुराम आचार्य शोध सम्मान, सरस्वती सम्मान र नारायणगोपाल सङ्गीत सम्मान दिन लागिएको हो ।
यस वर्ष इतिहास शिरोमणी बाबुराम आचार्य शोध सम्मान प्रा विद्यानाथ उपाध्याय भट्टलाई दिइने भएको छ । उहाँ तन्त्र विज्ञानका ज्ञाता हुनुहुन्छ । सरस्वती सम्मान यसपालि संयुक्तरूपमा कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा विष्णुविभु घिमिरे र कवि एवं व्यङ्ग्यकार लक्ष्मण नेवटियालाई दिइने भएको छ ।
यसैगरी नारायणगोपाल सङ्गीत सम्मान यसपालि रैथाने सङ्गीतको खोजकर्ता एवं गायिका झुमा लिम्बुलाई दिइने निर्णय भएको छ ।
लुनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिर स्रष्टा सम्मानको यो ३० औँ संस्करण भएको साहित्यकला मन्दिरका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार ३० औँ वार्षिकोत्सवको अवसरमा एक विशेष कार्यक्रम गरी स्रष्टालाई सम्मानित गरिनेछ । यही असोज २९ गते काठमाडौँमा सम्मान कार्यक्रमको तय गरिएको साहित्यकला मन्दिरका महासचिव रमण घिमिरेले जानकारी दिनुभयो ।