म्याग्दी, १२ भदौः जनैपूर्णिमा पर्वका अवसरमा म्याग्दीका हिमाली क्षेत्रमा रहेका तालतलैयामा आज धार्मिक मेला लागेका छन् । अन्नपूर्ण गाउँपालिका-५ को खयरभारानी, वडा नं ७ को प्यारीबाराही, वडा नं ८ को नाङ्गीबाराही र रघुगङ्गा गाउँपालिका-८ मा रहेको रिखारमा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ हजारौँ भक्तजन करिब तीनको पैदलयात्रा गरेर यहाँ पुगेका हुन् ।
समुन्द्रि सतहबाट चार हजार ६५० मिटर उचाइमा रहेको खयरभारानी ताल परिसरको थानमा पूजाआजाका लागि म्याग्दीका साथै पर्वत, बागलुङ र कास्कीबाट भक्तजन आएका खयरभारानी क्षेत्र संरक्षण समितिका संरक्षक राजु पुनले जानकारी दिनुभयो ।
रघुगङ्गा-८ मा धौलागिरि हिमालको काखमा चार हजार ५०० मिटर उचाइमा अवस्थित रिखारमा पनि उल्लेख्य सङ्ख्यामा भक्तजन पुगेका रघुगङ्गा-८ का वडाध्यक्ष गमान छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार खयरभारानी र रिखार जान आउन नजिकको बस्तीबाट तीन दिन लाग्दछ ।
अन्नपूर्णको नाङ्गीबाराही, रघुगङ्गा-२ को नौलीबाराही, अन्नपूर्ण-५ को कान्छि बाराहीमा पनि आज पूजाआजासहित मेला आयोजना भएको छ । बाराही तालमा पूजाआजा र दर्शनका लागि पुग्ने भक्तजनले सन्तान, धनसम्पती, रोजगारीको वर माग्ने र पूरा भएमा भेँडाका साँड र बोकाको बली चढाउने चलन रहिआएको स्थानीय बताउँछन् । बराह, बाराही तथा भारानीका ताल र मन्दिरमा पूजाअर्चना गरी वर मागेमा मनोकामना पूरा हुने जनविश्वास छ ।