भदौ १२, २०८३ शुक्रबार

लन्डन, १२ भदौ : बेलायतको अदालतमा चार युवकहरूले यहूदी च्यारिटीको एम्बुलेन्समा आगजनी र आक्रमण गरेको  शुक्रबार स्वीकार गरेका छन्।

बेलायती नागरिक २० बर्षिय हमजा इकबाल, १९ बर्षीय रेहान खान, १८ बर्षीय जुडेक्स अत्शात्शी र १८ बर्षीय पाकिस्तानी मुलका बेलायती सैफ अलीले मार्च २३ को आक्रमणसँग सम्बन्धित आपराधिक क्षतिको आरोपमा दोष स्वीकार गरेका हुन् ।

आक्रमणमा हात्जÞोला च्यारिटीद्वारा सञ्चालित चारवटा एम्बुलेन्स लन्डनको यहूदी बहुल क्षेत्रमा नष्ट गरिएका थिए। यो बेलायती राजधानीमा यहूदी वा इजरायल–सम्बन्धित स्थानहरूमा भएका आक्रमणहरूको श्रृंखलाको अंश थियो।

तीन युवकहरूले एम्बुलेन्समा आगो लगाए भने चौथो व्यक्ति भाग्ने कारमा प्रतीक्षा गरिरहेका थिए।

यी सवारी साधनहरू एउटा यहुदी धार्मिकस्थल नजिकै पार्क गरिएका थिए र क्षतिको अनुमान १० लाख पाउन्ड (लगभग १.४ मिलियन डलर) लगाइएको थियो।

इकबाल, खान र अत्शात्शीले भिडियो लिङ्कमार्फत आफ्नो बयान दिए भने अली सेतो सर्ट लगाएर लन्डनको ओल्ड बेली केन्द्रीय आपराधिक अदालतमा उपस्थित थिए।

अघिल्लो सुनुवाइमा अभियोजन पक्षकी वकिल एम्मा हैरवेले अदालतलाई बताउनुभएको थियो, “यो यहूदी समुदायविरुद्ध ‘पूर्वनिर्धारित र लक्षित आक्रमण’ भएको बलियो प्रमाण छ।”

यो वर्ष लन्डनमा सिनेगॉग (यहुदीहरूको धार्मिकस्थल) र अन्य स्थलहरूमा धेरै यहूदीविरोधी आक्रमणहरू भएका छन्।

इरानसँग जोडिएको समूह हराकत अस्हाब अल–यामिन अल–इस्लामियाले पहिले यी एम्बुलेन्सको विनाशसहित धेरै आक्रमणहरूको जिम्मेवारी लिएको थियो।

बेलायती सरकारले ‘इस्लामिक मुभमेन्ट अफ कम्प्यानियन्स अफ द राइट’ पनि यस समूहलाई राष्ट्रिय सुरक्षा खतराको रूपमा प्रतिबन्ध लगाउने योजना घोषणा गरेको छ । 

रक्षा पक्षका वकिलहरूले चारै आरोपीहरूको बेलायतमा प्रतिबन्धित समूहहरूसँग कुनै ‘आतङ्कवादी’ सम्बन्ध नरहेको अस्वीकार गरेका छन्।

चारै जनालाई हिरासतमा पठाइएको छ र उनीहरूको सजायको फैसला सन् २०२७ को वसन्तमा आउने अपेक्षा गरिएको छ ।

पाँचौं आरोपी १८ बर्षी सुभान अहमदले अपराधीलाई सहयोग गरेको आरोपमा निर्दोष दाबी गरेका छन्। उनको मुद्दा जनवरीमा ओल्ड बेलीमा चल्नेछ।