कात्तिक २५, २०८० शनिबार

काठमाडौँ, २५ कात्तिक : विसं २०७९ को हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार शुक्ल यजुर्वेदमा विद्यावारिधि गर्नुभएका प्रा डा ऋषिराम पोखरेललाई प्रदान गरिएको छ । 

अभिनव साहित्य समाजले आज जोरपाटीमा आयोजना गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले पोखरेलाई सम्मान पत्र, नगद रु ३० हजार र दोसल्लाले सम्मानित गर्नुभयो । तीन दशकसम्म नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठमा शुक्ल यजुर्वेदको अध्यापन गर्नुभएका पोखरेलले सोही विषयमा नेपाली अनुवादसहित पुस्तक प्रकाशन गर्नुभएको छ । 

शुक्ल यजुर्वेदको सो पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । 
 वैदिक ज्ञानमा पोखरेलले पु¥याउनुभएको योगदानको कदर गर्दै समाजले ज्योतिष हरिप्रसाद घिमिरेको नाममा स्थापित सो पुरस्कार प्रदान गरेको हो । 

बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले वैदिक साहित्यको अध्ययन गरेर पोखरेलले सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरनजिकैको त्रिवेणीमा दधिची ऋषिको आश्रम भएको तथ्य फेला पार्नुभएकाले आश्रम बनाएर धार्मिक पर्यटन प्रवर्द्धनमा लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

पिता हरिप्रसादको स्मृतिमा समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले पुरस्कारको स्थापना गर्नुभएको हो ।