पुस १३, २०८० शुक्रबार

काठमाडौँ, १३ पुस  : भूपीजयन्तीका अवसरमा चलचित्र समीक्षक एवं कवि अमर आकाशकृत काव्यकृति ‘टुङ्ना’ आज यहाँ सार्वजनिक गरिएको छ । 

    ह्वाइट लोटस बुक सप, कोपुन्डोल, ललितपुरद्वारा प्रकाशित कृतिमा काठमाडौँलगायत सहरको विकृति, आमा र प्रकृतिप्रतिको प्रेम, गाउँको सहरीकरण, आत्महत्या रोक्न प्राप्त प्रेरणा, पुँजीवादको विरोधसम्बन्धी चार खण्डमा विभाजित ४० कविता समाविष्ट छन् । 

    नेपाली राष्ट्रियता, गीतसङ्गीत, पर्यावरणका पक्षमा लेखिएका कविताहरूमा नयाँ विम्ब, प्रतीक र उपमाले कृतिलाई बल पु¥याएका छन् । सो अवसरमा वरिष्ठ साहित्यकार शैलेन्द्र साकार र हरि अधिकारीले चलचित्र समीक्षकबाट कविका रूपमा अवतरण भएका आकाशमा नयाँ सम्भावना भएको जनाउँदै काव्य क्षेत्रमा प्रवेश गरेकामा उहाँलाई स्वागत गर्नुभयो । 

    बुक सपका प्रमुख तथा कवि–अनुवादक–लेखक युयुत्सु आरडी शर्माले जीवनलाई नजिकबाट भोगेका आकाशले गोपालप्रसाद रिमालको उत्तराधिकार बोकेको बताउँदै आफूले अनुवाद गरेको आकाशको ‘मसिहा पप्पी’ को अङ्ग्रेजी अनुवाद सुनाउनुभयो । समीक्षक राजकुमार बानियाँ  र साहित्यकार श्याम रिमालले काव्यमा नयाँ प्रयोग र प्रगतिशीलता रहेको तथा नयाँ विम्ब र प्रतीकले कवितालाई वैभवशाली बनाएको टिप्पणी गर्नुभयो । 

    काठमाडौंँ उपत्यका सार्वजनिक पुस्तकालयका पुस्तकालयाध्यक्ष जुजुकाजी डङ््गोलले डा नारायण खड्काको पहलमा दुई दशकअघि  पुस्तकालयका ६० हजार पुस्तक रहेको र पाठकको भिड लाग्ने गरेको जानकारी दिनुभयो ।