फागुन १२, २०८० शनिबार

टक्सार (भोजपुर), १२ फागुन : साना सिँचाइ कार्यक्रमअन्तर्गत यहाँ एकैसाथ तीन कुलो निर्माण सुरु छ । भोजपुर नगरपालिका–८ एकैपटक तीन वटा पक्की कुलो बन थालेपछि किसान उत्साहित बनेका छन् । कुलो बनेसँगै सहजरुपमा हिउँदे तथा बर्खे खेती गर्न पाइने भएपछि कृषकमा उत्साह थपिएको हो । 

    सिँचाइ अभावमा वर्षाको भरमा खेती गर्न बाध्य यहाँका किसान व्यवस्थित पक्की कुलो बनेपछि खेतीमा सहजता देखिएको स्यालेखण्ड सिँचाइ कुलो निर्माण समितिका अध्यक्ष भगिरथ कठेतले बताउनुभयो । उहाँका अनुसार बन्दै गरेको कुलोले करिब तीन सय बढी रोपनी खेतीमा सहजता हुनेछ ।
 
    केन्द्र, प्रदेश र नगरपालिकाको २० प्रतिशतका दरले र स्वीस सरकारको ३० प्रतिशत अनुदान र स्थानीय कृषकको १० प्रतिशत लगानीमा तीन वटा कुलो निर्माण भइरहेका छन् । वडाभित्र हाल साना सिँचाइ आयोजनामार्फत ढुङ्ग्रेबास, स्यालेखण्ड र भैसरा सिँचाइ कुलो निर्माणको चरणमा छन् । 

    तीन वटै कुलोका काम अहिले तीव्ररुपमा अगाडि बढिरहेको वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो । उहाँका अनुसार निर्माणाधीन तीन वटै कुलो बनेपछि करिब एक हजार बढी रोपनी क्षेत्रफलमा सिँचाइको पहुँच पुग्नेछ । 

    जनप्रतिनिधिसहित वडाका सरोकारवालाको सहभागितामा निर्माणको अनुगमन तथा निरीक्षण पनि निरन्तर भइरहेको छ । बनिरहेका कुलोमा उपभोक्ता आफैँ खटेकाले गुणस्तरीय काम भइरहेको अनुगमन समितिका सदस्य लक्ष्मण भुजेलले बताउनुभयो । 

    कृषकका लागि आएको उक्त आयोजनामा उहाँहरु आफैँ उत्साह र मेहनतका साथ प्रत्यक्ष सहभागिता जनाउनु प्रशंसनीय काम भएको समितिका सदस्य कुमार खडकाले बताउनुभयो । कुलो निर्माण भएपछि धान खेतीका साथै अन्य बाली लगाउन पनि कृषकलाई सहजता हुने स्थानीय खम्बबहादुर बानियाले बताउनुभयो । 

    दीर्घकालीनरुपमा कुलो प्रयोगमा आउने गरी निर्माणमा आफैँ लागिपरेकाले निर्माण गुणस्तरीय बनाइने ढुङ्ग्रेबास सिँचाइ कुलोका अध्यक्ष शम्भु खडकाले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण गुणस्तरीय बनाउनका लागि आफैँ कृषक संलग्न भएर काम गरिरहेका छाैँ । वर्षौँपछि कुलो बन्न लागेको छ यो हाम्रो लागि गौरवको विषय हो ।”