असार २०, २०८३ शनिबार

भोजपुर, २० असारः भोजपुरको षडानन्द नगरपालिकाले ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफी खेती विस्तार तथा व्यवसायिकरण परियोजना’ अन्तर्गत किसानलाई २७३ मिनि टिलर वितरण गरेको छ । कफि खेतीमा आवद्ध किसान तथा कृषि समूहलाई लक्षित गरेर मिनि टिलर वितरण गरेको हो । 

    कफी खेती कार्यक्रमका लागि सङ्घीय सशर्त विषेश अनुदानमार्फत नगरपालिकाले एक करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । किसानको ५० प्रतिशत लागत साझेदारीसमेत समावेश गर्दा परियोजनाको कुल आकार दुई करोड ८९ लाख रुपैयाँ रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद दाहालले जानकारी दिनुभयो । 

    कफी खेतीलाई आयआर्जन र रोजगारीको मुख्य आधार बनाउने लक्ष्यसहित कार्यक्रमलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । साथै, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र स्थानीय उत्पादनको ब्रान्डिङमा जोड दिइएका उहाँको भनाइ छ । 

    किसानलाई कफि खेतीमा प्रोत्साहन गर्न २७३ मिनिटिलरसँगै अन्य कृषि औजार वितरण गरिएको कृषि विकास शाखा प्रमुख शिला पुन मगरले जानकारी दिनुभयो । त्यसैगरी झारपात व्यवस्थापनका लागि २० वटा ब्रस कटर, विषादी तथा जैविक झोल पदार्थ छर्कन २५७ वटा स्प्रेयर पनि वितरण गरिएको छ । 

    कफी खेतीलाई पूर्ण रूपमा प्राङ्गारिक प्रणालीमा आधारित बनाउन नगरपालिकाले पर्याप्त मात्रामा जैविक मलसमेत उपलब्ध गराउने भएको छ । यसअन्तर्गत २२ हजार ६२० किलोग्राम गोठेमल तथा २१ हजार ३६० किलोग्राम हड्डी मल वितरण भइरहेको शाखाले जनाएको छ । साथै बगैँचा व्यवस्थापनका लागि १६ वटा सिकेचर वितरण गरिएको कृषि विकास शाखाले जनाइएको छ । 

    यसपछि किसानलाई करिव ५० हजार कफीका बिरुवा वितरण गरिने जनाएको छ । बिरुवाको संरक्षण तथा रोग व्यवस्थापनका लागि ८६ लिटर खनिज तेल, १०० लिटर बोडो पेस्ट र ३३ लिटर इएम (इफेक्टिभ माइक्रोअर्गानिज्म) उपलब्ध गराइने जनाइएको छ ।

    कृषि क्षेत्रको व्यवसायीकरण, गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणलाई केन्द्रमा राख्दै गुणस्तरीय र अर्गानिक कफी उत्पादन गर्ने उद्देश्यले किसानलाई आवश्यक सहयोग गरिएको नगर प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । कफी खेती कार्यक्रमलाई नगरपालिकाले आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्य राखेको उहाँको भनाइ छ ।

    “नगरपालिका क्षेत्रमा बृहत रूपमा कफि खेती कार्यक्रम सञ्चालन गरिरहेका छौँ” प्रमुख उदासले भन्नुभयो, “कफी खेतीको विकासका लागि २७३ वटा मिनिटिलरसँगै अन्य कृषि औजार वितरण गरेका छौँ ।”

    षडानन्द क्षेत्रको भूगोल र मौसम कफी खेतीका लागि अत्यन्त उपयुक्त रहेकोले यहाँका क्षेत्रको अध्यायन पश्चात खेती विस्तारमा जोड दिइएको नगर उप–प्रमुख प्रमिला राईले बताउनुभयो । धेरै किसान लाभान्वित हुने यस कार्यक्रमले परम्गरागत खेतीलाई कम गर्दै नगदे तथा आधुनिक खेतीमा  प्रोत्साहन प्रदान गर्ने उहाँको भनाइ  छ । 

    नगरपालिकाले सामग्री वितरणमा मात्र सीमित नरही किसानको ज्ञान, सीप र क्षमताको विकासमा पनि जोड दिएको छ । कफीलाई आयआर्जन र रोजगारीको भरपर्दो माध्यम बनाउने उद्देश्यले परियोजना कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ । स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दीर्घकालीन आर्थिक रूपान्तरणतर्फ उन्मुख हुने रणनीतिसमेत यस कार्यक्रमले अंगालेको नगरको भनाइ छ ।