असार २०, २०८३ शनिबार

म्याग्दी, २० असारः २० वर्षअघि विदेशबाट फर्किएर सुन्तला खेती सुरु गर्नका लागि घरपरिवारलाई मनाउन पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका नरबहादुर पाइजालाई मुस्किल परेको थियो । 

    “भारतीय र बेलायती गोर्खा सैनिकमा भर्ति हुने प्रयास सफल नभएपछि रोजगारीको खोजीमा तीन वर्ष कतारमा बिताएपछि जन्मथलो फर्किएर सुन्तला लगाउने घरसल्लाह गर्दा बुवालाई मनाउन निकै गाहे भएको थियो,” उहाँ
ले भन्नुभयो “धान, कोदो र मकै खेती हुने खेतबारीमा काँडाधारी सुन्तला लगाएर के खान्छौँ भन्ने छिमेकी र आफन्त पनि अहिले मेरै सिको गरेर सुन्तला खेतीमा लागेकोमा गर्व लागेको छ ।”

    दुई दशकदेखि ब्यवसायिक सुन्तला खेती गर्दै आएका नरबहादुरले पछिल्लो समय नर्सरीबाट बिरुवा उत्पादन पनि गर्न थाल्नुभएको छ । गुणस्तरीय र स्वस्थ्य सुन्तलाका बिरुवा उत्पादनका लागि उहाँले पाइजा नर्सरी दर्ता गर्नुभएको छ । 

    “गत वर्ष रु ३५ लाखको सुन्तला र रु चार लाखको बिरुवा बिक्री भयो,” नरबहादुरले भन्नुभयो, “यसपाली गत जेठ १२ गतेको असिनाले चुटेर दाना झारेकाले सुन्तला उत्पादन घट्ने अनुमान छ । रु चार लाख बराबरको चार हजार बिरुवा बिक्री भएको छ ।” 

    चार सय ५० बोट सुन्तलाले उत्पादन दिन्छन् । चार सयभन्दा बढी बोट फल दिने तयारीमा छन् । हुर्कँदै गरेका सुन्तलाका बोट भएको बगैँचामा बाँसखर्कमा फलेको सुन्तलाको दानाबाट बिरुवा उत्पादन गर्ने नर्सरी छ । नरबहादुरका अनुसार नर्सरीमा २२ हजार बिरुवा हुर्कीरहेका छन् । म्याग्दी र पर्वतका किसान बिरुवा किन्न नर्सरी मै आउँछन् । बजारको समस्या छैन् । 

    सुन्तला र बिरुवा बेचेर आफ्नो आर्थिक र सामाजिक हैसियत फेरेका नरबहादुरले छोरालाई पढ्नका लागि विदेश पढाउनुभएको छ भने छोरीले पोखरामा बसेर उच्च शिक्षा हासिल गरिरहेकी छिन् । सुन्तला खेतीमा श्रीमतिको साथ पाएका नरबहादुरले बगैँचा गोडमेल, काटछाँट, मलजल र सरफाईका लागि मजदुरको ज्यालाका लागि वार्षिक रु तीन लाखभन्दा बढी खर्च हुने सुनाउनुभयो । 

    “अरुको देशमा मासिक रूपमा कमाउने रु एक लाखभन्दा आफ्नै घरपरिवारसँग बसेर हुने रु ५० हजार कमाईमा सन्तुष्ट हुनुपर्छ भन्ने भावनाबाट प्रेरित भएर कतारबाट फकिएको हो,” नरबहादुर भन्नुहुन्छ “जग्गा पाए सुन्तला खेती अझै बढाउने, नियमित कामदार राख्ने, गाईभैँसी, कुखुरा र माछापालन गर्ने योजना छ ।” गोठमा भकारो सुधार गरेर गाईभैँसीको गहुँत सङ्कलन गर्ने संरचना बनाउनुभएको छ । बिरुवा र सुन्तलाका बोटमा रोगकिरा नलागोस भनेर गहुँतमा पानी मिसाएर छर्कने गर्नुहुन्छ । 

    नरबहादुरलाई गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको सहयोगमा दायित्व संस्थाले सञ्चालन गरेको वृद्धिमुखी उद्यमशिलता तथा रोजगारी प्रर्वद्धन कार्यक्रमले जलजलाको उत्कृष्ट १० उद्यमी घोषणा गर्दै नगद रु एक लाख सहित गत हप्ता पुरस्कृत र सम्मान गरिएको उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

    कार्यक्रममार्फत यसअघि पनि प्रविधिमा अनुदान, ब्यवसायिक योजना र बजारीकरण तथा क्षमता विकाससम्बन्धी तालिम दिइएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको बाँसखर्कका बासिन्दाको मुख्य आम्दानीको स्रोत सुन्तला खेती बनेको छ । समुन्द्र सतहदेखि एक हजार १०० देखि एक हजार ९०० मिटर उचाइमा रहेको बाँसखर्कका २३९ मध्य २०० घरपरिवारले सुन्तला खेती गरेका स्थानीय ज्योतीमण्डल माविका प्रअ मेखबहादुर खत्रीले बताउनुभयो । 

    बाँसखर्कको एक हजार ५०० रोपनी जग्गामा सुन्तला खेती भएको छ । बाँसखर्कमा ५१ हजार १५१ सुन्तलाका बोट छन् । गत वर्ष रु २० करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको बाँसखर्कमा यसपाली असिनाका कारण उत्पादन दुई गुणाले घट्ने अनुमान गरिएको कृषक बसन्ती पाइजाले बताउनुभयो ।  

    बाँसखर्कका किसानले धान, कोदो, मकै, गहुु खेतीको विकल्पमा सुन्तला खेती गरेका छन् । पहिले बाँसको जङ्गल भएको र हिउँदमा गाईभैँसी, भेडाबाख्राको गोठ राख्ने भएकाले बाँसखर्क रहन गएको किम्बदन्ती छ । पुरानो बाँसखर्कको पाखो अहिले सुन्तलाखर्कमा परिणत भएको छ ।

    सुन्तला बगैँचा अवलोकन गर्न पर्यटक आउँछन् । म्याग्दी र पर्वतलाई समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको प्रवेशबिन्दु बाँसखर्क हो । माथिल्लो बाँसखर्कमा घरबास सञ्चालन भएको छ । 

    गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र जलजला गाउँपालिकाको सहकार्यमा रु एक करोड बजेटबाट चालु आर्थिक वर्षमा बाँसखर्कको सुन्तला बगैँचामा ‘पम्पीङ’ प्रणालीमार्फत स्थायी सिँचाइ कार्यक्रम सञ्चालन भएको छ ।  

    बाँसखर्क भएर मल्लाजमा पानी लैजाने सिँचाइ योजनाको नहरभन्दा माथिको बगैँचामा पम्पिङ र तलमाथी दुबैतिर हरेक ४०० देखि ५०० बोटका लागि दश हजार लिटर क्षमताको टङ्की बनाएर स्थायी किसिमले सिँचाइको ब्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।