चैत १५, २०८० बिहिबार

बनियानी, १५ चैत : झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना खेती गरिएको छ । किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाका चार वटा पालिकामा नमुना खेती गरिएको कृषि ज्ञानकेन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो । 

गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा ट्रेमा धानको बीउ उमारेर र धान मेसिनले रोपाइँ गरेर नमुना खेती गरिएको हो । २५ जना किसानको ७० बिघा जमिनमा ‘चैते धान–५’ जातको चैते धानको नमुना खेती गरिएको उहाँले बताउनुभयो ।

“किसानलाई प्रविधि चिनाउँदै प्रविधियुक्त खेतीमा प्रोत्साहित गराउने उद्देश्य हो”, उहाँले भन्नुभयो, “बीउ राख्न ट्रे र धान रोप्ने मेसिन निःशुल्क उपलब्ध गराइएको छ ।” सहकारीको मेसिन भाडामा लिएर रोपाइँ गरिएको उहाँले बताउनुभयो । 

मेसिनले रू चार हजार पाँच सयमा एक बिघा धान रोपाइँ गर्ने तर खेताला लगाएर रोपाइँ गर्दा रू नौ हजारभन्दा बढी खर्च हुने निमित्त प्रमुख विष्टले जानकारी दिनुभयो ।  बीउ उखेल्ने र रोपाइँ गरेर करिब रू १५ हजारदेखि रू २० हजार बचत हुने उहाँले बताउनुभयो । मेसिनले रोप्दा पाँचदेखि १० प्रतिशत उत्पादन वृद्धि हुने उहाँको दाबी छ । 

उत्पादन भएको चैते धान न्यूनतम रू नौ सय प्रतिमन (४० केजी) का दरले खरिद गर्ने निश्चित भएको निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो । नमुना खेतीका लागि ज्ञान केन्द्रको रू १० लाख खर्च भएको छ । झापामा किसानले ‘ड्रम सिडर मेसिन’ प्रयोग गरेर छरुवा प्रविधिबाट चैते धान लगाएका छन् ।