चैत १५, २०८० बिहिबार

दाङ, १५ चैत : दाङको तुलसीपुर उपमहानगरपालिका–ं६ मोतिपुरकी ५८ वर्षीया तुलसा बुढामगरले व्यावसायिक रुपमा च्याउ खेती थालेको डेढ दशकभन्दा बढी भयो । सामान्य लेखपढ बुढामगर आफू एक्लै च्याउखेतीमा रमाएको मात्र होइन कि उहाँले अहिले च्याउ उद्योग पनि खोल्नुभएको छ । 

उहाँले खोलेको सो उद्योगमा अहिले चार जनाले रोजगारी पनि पाएका छन् । यस व्यवसायबाट राम्रै आम्दानी गरेकी उहाँले वार्षिक रु आठ लाख जति बचत गर्ने गरेको जानकारी पनि दिनुभयो । सुरुमा एउटा महिला समूह गठन गरी सानो माटोको कच्ची घर भाडामा लिएर च्याउ लगाउन सुरुआत गरेको बताउने उहाँ अहिले यस क्षेत्रकै एक सफल महिला उद्यमीका रुपमा पनि परिचित हुनुभएको छ । 

उहाँ भन्नुहुन्छ, “यस खेतीबाट आर्थिकरुपमा सक्षम हुनुका साथै आत्मनिर्भर पनि बनेकी छु । अहिले राम्रै कमाई हुन थालेपछि पहिलेभन्दा काम गर्ने जाँगर पनि बढेर आएको छ ।” च्याउ बिक्रीबाट हालसम्म बचत गरेको रकमबाट एक पक्की घर र केही सम्पत्ति जोड्न सफल भएकोे उहाँको भनाई छ । 

एक सफल उद्यमी महिलाको रुपमा स्थापित हुनुभएकी उहाँले उत्पादन गर्ने ताजा च्याउबाट तयार गरीएको च्याउको अचार र सुकुटी दाङ तथा जिल्ला बाहिरका अन्य सहरसम्म पनि पुग्ने गरेको छ । च्याउ बाहिरी बजारसम्म पुग्ने गरेको र त्यसबाट राम्रो आम्दानी हुने गरेको उहाँको भनाइ छ ।

गत फागुनमा तुलसीपुरमा आयोजना गरिएको तुलसीपुर महोत्सवमा उहाँले एउटा स्टल भाडामा लिएर आफूले उत्पादन गरेका च्याउ र च्याउका परिकार तथा अन्य अर्गानिक तरकारी, सिस्नोको झोल, तरुल आदि राख्नुभएको थियो । यस्ता स्थानीय मेला महोत्सवहरुमा अहिले पहिलेका तुलनामा मानिसहरुले यस्तै मौलिक तथा स्थानीय उत्पादन नै खोज्ने गरकाले आफू र आफूजस्ता अन्य उद्यमी उत्साही हुने गरेको उहाँले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, “अहिले म निकै खुसी छु । दुई हप्तायता च्याउ र यसका परिकारहरु खरिद गर्ने मानिसको सङ्ख्या निकै बढेकाले आनन्द आएको छ । अबको चाहना आफ्ना उत्पादनहरु अन्तर्राष्ट्रिय बजारसम्म प¥ुयाउने रहेको छ । मलाई लाग्छ यस कार्यमा पनि हामी सफल हुन्छौँ होला ।” 

उहाँले ताजा च्याउ प्रतिकेजी रु २२० सम्म, च्याउको सुकुटी प्रतिकेजी रु ३०० देखि ३८० सम्म र अचार प्रति केजी पाँचदेखि छ सयसम्ममा बिक्री गर्दै आउनुभएको छ । सुरुका दुई वर्षमा गङगामाला च्याउ समूह खोलेर च्याउखेतीको सुरुआत गरेकी उहाँले अहिले आफ्नै च्याउ प्रशोसन केन्द्रसमेत सञ्चालन गर्नुभएको छ । करिब रु तीन लाखबाट निजी च्याउ उद्योग थालेको बताउने उहाँले हालसम्म च्याउखेतीबाटै रु एक करोड बराबरको पक्की घर खरिद गर्नुका साथै च्याउखेतीका लागि आवश्यक पर्ने सामग्री जोड्नुभएको छ । 

त्यसैगरी उहाँलाई उत्कृष्ट महिला उद्यमीका रुपमा साना तथा मझौला उद्योगबाट निःशुल्क च्याउ प्रशोधन मेसिन प्राप्त गर्नुभएको छ । उहाँले १४ वर्षसम्म महिला स्वास्थ्य स्वयम्सेविका भएर पनि काम गर्नुभएको थियो । यसैक्रममा जिल्ला भ्रमणमा गएका बेला चितवनमा च्याउखेती देखेपछि यसतर्फ आकर्षित भएको बताउनुन्छ । दुई सन्तानकी आमा, सामान्य लेखपढ तुलसालाई उहाँका श्रीमान्को राम्रो सहयोग छ ।

उहाँले जिल्ला तथा केन्द्रीयस्तरका धेरै पुरस्कार समेत प्राप्त गरिसक्नुभएको छ । गत वर्षपनि उहाँलाई तुलसीपुर उपमहानगरपालिले उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत गरेको थियो ।    
 
च्याउ खेती नेपालजस्ता देशका लागि उचित रहेको उहाँको अनुभव छ । धेरै कडा परिश्रम पनि गर्न नपर्ने र स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक मानिने च्याउको खेती नेपालमा उचित रहेको उहाँको अनुभव छ । त्यसैले पनि नेपालमा च्याउन किसान खासै मर्कामा नपरेका र च्याउ तथा च्याउको परिकार नेपाली बजारमा लोकप्रिय रहेको उहाँको भनाई छ । 

नेपालमै केही गर्न सकेमा ठूलो सङ्ख्याका युवा तथा युवती विदेश पलायन हुन नपर्ने उहाँको धारणा छ । पछिल्लो समयमा रोजगारीका लागि भन्दै दिनहुँ विदेश जाने नेपाली युवाको सङ्ख्या बढ्दै गएकोप्रति उहाँ खुसी हुनुहुन्न । 

उहाँ भन्नुहुन्छ “पछिल्ला वर्षहरुमा धेरै महिला तथा पुरुष बेरोजगार भयौँ भन्दै विदेश जानुहुन्छ । दिनहुँ हजारौँको सङ्ख्यामा युवा विदेशिएका समाचारहरु सुन्ने गरेको पनि छु । तर यो गलत हो । वास्तवमा आफनै गाउँ ठाउँमा प्रसस्त अवसर छन् । हामीले ती अवसरबाट लाभ लिन सक्नुपर्छ । मैले नै राम्ररी कमाइ गरेकि छु भने अरु नेपालीले किन गर्न नसक्ने ?”  

उहाँले नेपालका धेरै ठाउँमा च्याउ खेती गरेर मनग्गे आम्दानी गर्न सकिने अनुभव पनि सुनाउनुभयो । त्यसैले विदेश जानुको सट्टा थोरै लगानी र केही मेहनत गरेर नेपालमै च्याउ खेती गर्न सकिने उहाँको सुझाव छ । अहिले नेपालको मलिलो जमिन बाँझै छोडेर युवाहरु विदेशिएकाले सरकारले पनि कृषि सम्बन्धी यस्तै कार्यक्रमहरु ल्याएर नेपाली युवालाई रोजगार बनाई स्वदेशमै रोक्नुपर्ने सुझाव दिनुहुन्छ ।