बैशाख १४, २०८१ शुक्रबार

धादिङ- दक्षिणी धादिङको गजुरी गाउँपालिकासहित वडा नम्वर-३ को विकट बस्ती पुराकसिङ्गका किसानको बारीभरि देखिएका यी झिलिमिली विजुली बत्तीहरू कुनै होटल र रिर्जोट सजाउन बालिएका होइन । यो त किसानहरूले लगाएको बालीमा रोग किराको प्रकोप नियन्त्रणका लागी राखिएका विजुली बत्तीहरू हुन् । 

निकै लामो समयदेखि किसानहरूले लगाएको बालीनाली खुम्रे कीराको प्रकोपका कारण सखाप हुँदै गएपछि कीरा नियन्त्रणका लागी बारीमा बाली जोगाउन गरिएको उपाय हो । पहाडी र उच्च पहाडी भागमा मुख्य खाद्यान्न बालीको रुपमा मानिने कोदो मकैलगायत अन्य नगदे तरकारी बालीमा खुम्रे किराको प्रकोपका कारण बाली नै मासिंदै जना थालेपछि किसानहरूले यस्तो विधि अपनाएका हुन् । 

बाली रोपेको केही समयपछि माटोमै सेता कीराहरू देखा परेको र ति कीराहरू विस्तारै बढ्दै गएपछि बालीमा मर्दै जाने समस्याले उब्जनी समेत हुन छाडेपछि किसानहरू समस्यामा परेका हुन् । अहिले सोही रोग कीरा नियन्त्रणका लागी किसानहरूले रातभरि बारीमा विजुली बित्ती बालेर छाडी दिएका हुन् । 

खुम्रे किराको माउ आकासमा पुतली जस्तै उडिरहने एक प्रकारका पखेटादार कीरा हुने र त्यस कीरा रातको समयमा सक्रिय हुने भएकाले त्यसको नियन्त्रणका लागी यो विधि अपनाइएको प्राविधिकहरूको भनाई छ । यसरी बालिएको बत्ती मुनी पानीको भाँडा राखिएको हुन्छ, अँध्यारोमा बालिएको विजुली बत्तिमा यो कीरा झुम्मिने र पानीमा खसेर माउ नै मरेपछि यो नियन्त्रण हुने प्राविधिकहरूको भनाई छ । 

विभिन्न प्रकारका कीटनाशक विषादीको प्रयोगका कारण समेत माटोबाट खुम्रे कीरा हटाउन नसकेपछि माउ नै मार्नका लागी यो विधि अपनाइएको हो । कीरा नियन्त्रणका लागी प्रयोग गरिएको विषादीले गर्दा माटोको गुण समेत बिग्रदै जना थलेका कारण पनि यो विधि राम्रो हुने आशामा स्थानीय किसानहरू छन् । यसको लागी गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा फियान नेपाल नामक एक गैर सरकारी संस्थाले किसानहरूलाई प्राविधिक सहयोग जुटाई दिएको छ ।

यो सँगै बालीमा यो कीराको प्रकोप नियन्त्रणका लागि माटोमा निमजन्य झोल प्रयोग गर्नुपर्ने सुझाव कृषि ज्ञान केन्द्र धादिङले किसानहरुलाई दिएको छ । यसैगरी बारीमा गोबर मलको प्रयोग गर्दा काँचो मल प्रयोग नगर्न र समय समयमा खनजोत गर्नुपर्ने पनि ज्ञान केन्द्रले किसानहरुलाई सुझाव दिएको छ ।