असोज १, २०८१ मंगलबार

काठमाडौँ, १ असोज : राष्ट्रिय समाचार समिति (रासस)ले नवीनतम् प्रविधिको प्रयोग गरी आफ्ना जनशक्तिको क्षमता अभिवृद्धि तथा खदिँलो समाचार सामग्री उत्पादनमा सहयोग गर्ने उद्देश्यले आजदेखि ‘डिजिटल रिपोर्टिङ ज्ञान र गलत सूचना पहिचान’सम्बन्धी कार्यशाला आयोजना गरेको छ । 

    ‘गुगल न्यूज इनिसिएटिभ’को सहयकार्यमा रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यशालामा गुगलका माध्यमबाट समाचारसँग सम्बन्धित आवश्यक जानकारी प्राप्त र सूचनाको परीक्षण गर्नेसम्बन्धी विभिन्न उपकरणको प्रयोगबारे जानकारी गराइएको छ । सो कार्यशालामा सहभागीलाई डिजिटल मिडिया फाउण्डेसनका प्रमुख प्रवेश सुवेदीले मुख्य प्रशिक्षकका रुपमा सहजीकरण गर्नुभयो । 

    कार्यशालाको शुभारम्भका अवसरमा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले डिजिटल प्रविधिको प्रयोगले जनशक्तिमा आधारित पत्रकारिताको विकास र विस्तारमा बल प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ प्रविधिसँग तालमेल मिलाउन सकेमा राष्ट्र र समाजका लागि गरिने पत्रकारितामा मद्दत मिल्ने बताउनुभयो । 

    प्रशिक्षक सुवेदीले नवीन प्रविधिको भरपुर सदुपयोगबाट विश्वासिलो र सत्यतथ्य सूचना प्राप्त गर्न सकिने उल्लेख गर्दैै प्रतिस्पर्धी युगमा सञ्चारकर्मी प्रविधिको प्रयोगसम्बन्धी ज्ञानमा निपूण हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

    दुई दिनसम्म चल्ने सो कार्यशालामा गुगलका विभिन्न उपकरणको प्रयोग, तथ्य जाँच, सूचनाको सत्यपन परीक्षण, गलत सूचनाको पहिचानलगायत विभिन्न विषयमा अभिमुखीकरण गरिनेछ । उक्त कार्यशालामा समाचार सङ्कलन, सम्पादन तथा प्रशासन शाखाका २५ बढी पत्रकार तथा कर्मचारीको सहभागिता छ ।