कैलाली, ३० माघ : दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा एथलेटिक्स, कुस्ती र बुद्धिचाल खेलका खेलाडीहरु छनोट भएका छन् ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगितामा दुई दिनसम्म सञ्चालन भएका प्रतियोगिताअन्तर्गत एथलेटिक्स, कुस्ती र बुद्धिचाल खेलका खेलाडीहरु छनोट भएका हुन् । यसअघि जुडो र भारात्तोलन खेलका खेलाडी छनोट भइसकेका छन् ।
तीन वटै खेलबाट दशौँ राष्ट्रिय खेलकुदका लागि पुरुष र महिला खेलाडी छनोट भएका छन् । एथालेटिक्समा पुरुषतर्फ पाँच हजार मिटर दौड, १५०० मिटर दौड र ४०० मिटर दौडतर्फ नौ जना खेलाडी छनोट भएका छन् । त्यसैगरी ज्याभलिङ थ्रो, हाईजम्प र लङजम्पमा नौ जना खेलाडी छनोट भएका छन् । ४०० गुणा १०० मिटर रिलेमा पनि १२ जना खेलाडी छानिएका छन् । एथलेटिक्स महिला तर्फ पनि पाँच हजार मिटर दौड, १५०० मिटर दौड र ४०० मिटर दौडतर्फ नौ जना खेलाडी छनोट भएका छन् ।
कुस्ती पुरुषतर्फ विभिन्न तौल समूहमा नौ जना खेलाडी छनोट भएका छन् । ५७ किलो तौल समूहदेखि एक सय २५ किलो तौल समूहमा खेलाडीहरु छानिएका हुन् । छनोट भएका खेलाडीमा सबैभन्दा बढी छ जना कञ्चनपुरका छन् भने दुई जना कैलाली र एक जना दार्चुलाका छन् ।
कुस्ती महिलातर्फ १० खेलाडी छनोट भएका छन् । ५० किलो तौल समूहदेखि ७६ किलो तौल समूहका खेलाडीहरु छानिएका हुन् । त्यसमा आठ जना खेलाडी कञ्चनपुरका छन् भने एक÷एक जना दार्चुला र डडेल्धुराका छन् ।
बुद्धिचालमा महिला र पुरुष गरी १० जना खेलाडी छनोट भएका छन् । त्यसमा पाँच पुरुष र पाँच महिला खेलाडी छन् । पुरुषतर्फ कैलालीका दुई जना र बझाङ, डोटी र कञ्चनपुरका एक÷एक खेलाडी छनोट भएका छन् ।
महिलातर्फ पाँच खेलाडीमा दुई जना कञ्चनपुरका र कैलाली, डोटी र दार्चुलाका एक÷एक खेलाडी छानिएका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् । चार सय सय ५० जना निर्णायक सहभागी हुनेछन् ।
दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको छनोट प्रतियोगितामा प्रदेशका दुई हजार आठ सय खेलाडी सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेशले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ । त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल भइरहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिनुभयो ।
छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगिताका खेलहरू कैलाली र कञ्चनपुरमा भइरहेका छन् । कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, खो–खो, उसुलगायत खेलहरु भइरहेका छन् । त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, कुस्ती लगायतका खेल भइरहेका छन् ।
प्रदेश छनोट प्रतियोगितामा प्रथम मेडल तीन सय ३२, द्वितीय मेडल तीन सय २०, तृतीय मेडल चार सय ५६ गरी एक हजार एक सय ९८ वटा मेडल रहेको छ ।