गण्डकी, १ वैशाख : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राष्ट्रको स्थायी शान्ति, दिगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक, सामाजिक रूपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नयाँ वर्ष २०८२ को आगमनको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले विगत समीक्षा गर्ने र भविष्यमा गरिने कार्यहरूको योजना बनाउने अवसरका रूपमा नयाँ वर्षले जोश, जाँगर र उत्साह थप्ने विश्वास लिनुभएको छ ।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै समस्त नेपालीको जीवनलाई अझै उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरूरी रहेको छ”, सन्देशमा भनिएको छ ।
नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि सामूहिकताको संस्कृति विकास गर्दै आइलाग्ने थुप्रै चुनौतीलाई सबै पक्षको सहमति र सहकार्यबाट परास्त गर्नुपर्नेमा उहाँको जोड छ । लोकतन्त्रको उच्चतम अभ्यास गर्न, यसलाई फुल्ने, फल्ने वातावरण बनाउन, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्न एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्षले सबैलाई प्रेरणा मिलोस् भन्ने उहाँले कामना गर्नुुभएको छ ।