काठमाडौँ, ७ मङ्सिरः प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा अधिवक्ता बालकृष्ण बस्नेतले अध्ययन, तथ्यको खोजी र स्थलगत रिपोर्टिङविना पत्रकारिता दिगो हुन नसक्ने बताउनुभएको छ ।
रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषयमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीसँग आज भएको अन्तरक्रियामा पूर्वअध्यक्ष बस्नेतले सार्वजनिक सरोकारका विषयलाई समाचार बनाएर मात्र नपुग्ने भन्दै त्यसको निरन्तर अनुगमन र ‘फलोअप’ गर्नुपर्नेमा जोड दिनुभयो । ‘डिजिटल’ प्रविधिको विकाससँगै कोठामै बसेर समाचार तयार पार्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उहाँले पत्रकारले घटनास्थलमै पुगेर तथ्य सङ्कलन गर्नुपर्ने बताउनुभयो ।
सार्वजनिक सरोकारका विषयलाई एकपटक उठाएर छाड्नुभन्दा त्यसको कानुनी तथा सामाजिक निरुपण नभएसम्म निरन्तर खबरदारी गर्नु पत्रकारिताको दायित्व भएको पूर्वअध्यक्ष बस्नेतको भनाइ थियो । कानुन पत्रकारिता र अदालती रिपोर्टिङको अनुभव सुनाउँदै उहाँले पत्रकारिताले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका कामकारबाहीमाथि निगरानी तथा खबरदारी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख गोविन्द आचार्यले नेपाली सञ्चारमाध्यममा भाषाको जीवन्तता र ऊर्जा बढी रहेको उल्लेख गर्दै शब्दहरू ठूला वा साना नभई परिचित र अपरिचित मात्र हुने बताउनुभयो । उहाँले कानुन अध्ययनमा कृत्रिम बद्धिमत्ताबाट तयार सामग्रीको मान्यता तथा साहित्यिक चोरी परीक्षणसम्बन्धी विषयमा पनि चर्चा गर्नुभयो ।
पत्रकारिता विभागका प्रमुख डा जगत नेपालले सूचना र समाचारबीचको भिन्नता स्पष्ट पार्दै उहाँले समाचारमा सूचनासँगै त्यसको सार्वजनिक महत्त्व र सान्दर्भिकता हुनुपर्ने बताउनुभयो । समाचार जुनसुकै माध्यमबाट प्रकाशन तथा प्रसारण भए पनि त्यसका आधारभूत तत्व भने परिवर्तन नहुने उहाँको भनाइ थियो ।
उपप्राध्यापक शान्ताराम बिडारीले पत्रकारिताका सिद्धान्त, वर्तमान अवस्था र आमसञ्चारका विविध पक्षबारे आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा उपप्राध्यापक प्रमोद टण्डनले पनि पत्रकारिताका विविध विषयमा चर्चा गर्नुभएको थियो । मानविकी सङ्कायअन्तर्गत पत्रकारिता लेखन विषयको प्रयोगात्मक अभ्यास तथा पत्रकारिता पेसाका चुनौती र सम्भावनाबारे अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले विभिन्न जिज्ञासा राखेका थिए भने अतिथि तथा शिक्षकहरूले विद्यार्थीका प्रश्नको जवाफ दिँदै व्यावहारिक अनुभवसमेत साझा गर्नुभएको थियो ।