मंसिर ७, २०८३ मंगलबार

पाल्पा, ७ मङ्सिरः पाल्पामा ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तिनाउ गाउँपालिका–६ सिसुवा  खहरेमा  हत्याको आरोपमा तिनाउ जन्तीलुङ्गका ३५ वर्षीय नारायण लम्तरी पक्राउ परेका हुन् ।
     सिसुवाका ४५ वर्षीय नन्दलाल बजगाईंको ढुङ्गा प्रहार गरी हत्या गरिएको आरोपमा प्रहरीले फरार रहेका लम्तरीलाई आज पक्राउ गरेको हो । उनले आइतबार साँझ बजगाईंको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो । 

    घटनामा संलग्न रहेको आरोपमा लम्तरीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजतलासका क्रममा उनलाई रैनादेवी छहरा गाउँपालिका–४  छहराबजारबाट आज पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।