मंसिर ७, २०८३ सोमबार

रासस

कर्णाली, ७ मङ्सिरः कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन आह्वान गर्नुभएको छ ।

    सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली प्रदेश रङ्गशालाको हस्तान्तरण तथा समुद्घाटन कार्यक्रम’मा मुख्यमन्त्री शाहीले यही मङ्सिर १६ गते प्रतियोगिताको औपचारिक उद्घाटन हुने भए पनि मङ्सिर ९ गतेदेखि विभिन्न विधाका खेल सुरु हुने बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप), कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको आपसी समन्वय तथा सहकार्यबाटै काम भइरहेको उहाँले बताउनुभयो । 

    मुख्यमन्त्री शाहीले भन्नुभयो, “प्रतियोगिताको आयोजनास्थल कर्णाली प्रदेशको मुकाम सुर्खेत वीरेन्द्रनगर भए पनि यसलाई सफल पार्ने जिम्मा हामी सबै सरोकारवालाहरुको हो । यसमा साथ सहयोग दिन तपाई सम्पूर्णमा हार्दिक आह्वान गर्दछु ।” उहाँले कर्णाली प्रदेश रङ्गशाला निर्माण आयोजनाको जिम्मा लिएको एमएसी–जिएसएल जेभीबाट निर्मित भौतिक संरचना र प्रदेश रङ्गशालाको सञ्चालन, उपयोग, व्यवस्थापन तथा संरक्षणको जिम्मेवारी लिनेगरी हस्तान्तरणपत्र ग्रहण गर्दै सो रङ्गशालाको आजै उद्घाटनसमेत गर्नुभयो । 

    कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले अबको अर्जुनदृष्टि भनेकै खेल सम्पन्न गर्नु हो भन्नुभयो । उहाँले प्रदेशकै गौरवको संरचनामा हुन थालेको ऐतिहासिक खेलकुद प्रतियोगिता सञ्चालनमा आउने समस्या र चुनौतीलाई सामना गर्दै भव्य रुपमा सम्पन्न गरिने बताउनुभयो ।

    कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले प्रदेश सरकारले खेलाडीको स्वास्थ्य तथा सुरक्षाका लागि अस्पताल स्थापनाका साथै दुई हजारभन्दा बढी सुरक्षाकर्मी खेल अवधिभर परिचालन गर्न लागेको बताउनुभयो । 

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उत्सवमय हुँदै गएको बताउनुभयो । कीर्तिमानी धावक हरिबहादुर रोकायले प्रतियोगिता सबै मिलेर सफल बनाउने साझा प्रयासमा लाग्न अनुरोध गर्नुभयो । कार्यक्रममा कर्णालीका देउडा तथा हुड्के, पैसरु, थारु, मगर, गुरुङ, गर्रालगायत सांस्कृति नाच प्रदर्शन गरिएको थियो ।