बैशाख १, २०८३ मंगलबार

सुरुङ्गा (झापा), १ वैशाख : यहाँको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा आज बिहान आगलागी भएको छ ।

    आगलागी परी ती उद्योगमा ठूलो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आज बिहान करिब ४ः१५ बजे भक्तिप्रसाद उप्रेतीले सञ्चालन गर्नुभएको ‘झापाली चिप्स फ्याक्ट्री’ र चन्द्रप्रसाद खरेलको ‘सौगात काष्ठ फर्निचर’मा एकैसाथ आगलागी भएको थियो ।

    आगलागीबाट दुवै उद्योगका कच्चा पदार्थ, तयारी सामग्री तथा मेसिनरी सामान जलेर नष्ट हुँदा करिब एक करोड मूल्य बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

    इलाका प्रहरी कार्यालय बिर्तामोड, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको प्रहरी टोली, बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल तथा स्थानीयको सहयोगमा केहीबेर अघि आगो निभाइएको छ ।

    आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।