बैशाख २९, २०८३ मंगलबार

वीरगञ्ज (पर्सा), २९ वैशाखः पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि ‘वन्यजन्तु उद्धार टोली’ तयार पारेको छ । 

विगतमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा कुनै वन्यजन्तु चोटपटक तथा घाइते भएर रेस्क्यु गर्नुपर्दा चितवन राष्ट्रिय निकुञ्जबाट वाइडलाइफ उद्धार टोली बोलाउनुपथ्र्याे ।  तर, निकुञ्जले वैशाखको पहिलो सातादेखि भने निकुञ्जमा नै उद्धारटोलीको व्यवस्थापन गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार पारेपछि घाइते भएका वन्यजन्तुको उद्धार र उपचारमा सहज भएको जानकारी दिनुभयो ।

“विगतमा वन्यजन्तु घाइते वा दुर्घटना हँुदा चितवन राष्ट्रिय निकुञ्जबाटै टोली बनाउनुपर्ने हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर,अहिले यहाँबाटै हुँदा धेरै सहज र छिटो उद्धार सम्भव भएको छ ।” सूचना अधिकारी भगतका अनुसार उद्धार टोलीमा पशु चिकित्सक, प्राविधिक, सवारी चालकलगायत रहेको बताउनुभयो ।

“वन्यजन्तु घाइते तथा उद्धार गर्नुपर्ने अवस्था आएको खण्डमा बारा, पर्सा, रौतहट, मकवानपुरसम्म जाने गरेका छौँ”, उहाँले भन्नुभयो । कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म पाटेबाघ एक, चित्तल छ वटा, गोमनसर्प एक सयबाट उद्धार गरेको जनाएको छ । 

त्यस्तैगरी किंग कोब्रा २५ वटा, अजिङ्गर १५ वटा, सालक एक वटा र अन्य वन्यजन्तु तीनवटा उद्धार गरेर उपचारपछि प्राकृतिक वासस्थलमा छाडेको निकुञ्जले जनाएको छ ।