बैशाख २९, २०८३ मंगलबार

डुम्रे (तनहुँ), २९ वैशाखः तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको पोखरा–नारायणगढ सडक बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ । 

निर्माण सुरु भएको १२ वर्षपछि काम सम्पन्न नभएको र निर्माण व्यवसायीले पटक–पटकको निर्देशन अटेर गरेपछि सडक डिभिजन कार्यालय दमौलीले आज सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्य गरेको हो । 
    
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने पुल बनाउन सडक डिभिजन कार्यालयले निर्माण कम्पनी ‘मृत सञ्जीवनी निर्माण सेवा’सँगको सम्झौता अन्त्य गर्दै प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको सूचनामा जनाइएको छ । 
    
कार्यालयले गत चैत १७ गते संशोधित ‘डिजाइन’ स्वीकृत भइसकेको जनाउँदै १५ दिनभित्र काम सुरु गर्न अन्तिम मौका दिएको थियो । तर, उक्त निर्देशनपछि पनि सम्पर्कमा नआएको र कुनै प्रगति नदेखिएपछि सम्झौतामा उल्लेखित निर्देशन ‘गम्भीर उल्लङ्घन’ को प्रावधानअनुसार ठेक्का तोडिएको सडक डिभिजन प्रमुख राजीव श्रेष्ठले जानकारी दिनुभयो ।
    
पुल निर्माणमा भएको चरम ढिलासुस्तीका कारण स्थानीयवासी लामो समयदेखि आन्दोलित हुँदै आएका थिए । पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले निर्माण कम्पनीले जनताको भावनासँग खेलबाड गरेको बताउनुभयो । विसं २०७० असारमा रु १० करोड २१ लाख ८६ हजार लागतमा सम्झौता भएको १०५ मिटर लामो उक्त पुलको हालसम्मको भौतिक प्रगति केवल ३६ प्रतिशत मात्र रहेको छ ।
    
यस पुल निर्माण सम्पन्न भएमा दमौलीबाट चितवन पुग्न हालको मुग्लिन–डुम्रे सडकभन्दा करिब २५ किलोमिटर दूरी छोटो पर्नेछ । पुल नबनेका कारण यस क्षेत्रका छ÷सात वटा साना बस तथा जीप घुमाउनेघाटसम्म मात्रै चल्न बाध्य छन् । यात्रु झोलुङ्गे पुल प्रयोग गरी मुग्लिन–नारायणगढ सडकखण्डसम्म पुग्ने गरेका छन् भने दुई पाङ्ग्रे सवारीसाधन पुलबाट डो¥याउँदै सडकखण्डमा जोडिन्छन् । 
    
सडक डिभिजन कार्यालयले जारी गरेको सूचनामा निर्माण व्यवसायीलाई अविलम्ब निर्माणस्थल खाली गर्न तथा बाँकी भुक्तानी भए १५ दिनभित्र हिसाब मिलान (वित्तीय फरफारक) गर्न निर्देशन दिइएको छ । ठेक्का रद्द भएसँगै अब नयाँ बोलपत्र आह्वान गरी पुल निर्माणको बाँकी काम अघि बढाउने बाटो खुलेको छ । निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियासमेत अघि बढाइएको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।