बैशाख ३०, २०८३ बुधबार

काठमाडौँ, ३० वैशाख : राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा चिरञ्जीवीप्रसाद पोखरेल नियुक्त हुनुभएको छ । वन तथा वातावरणमन्त्री एवं कोषका अध्यक्ष गीता चौधरीले उहाँलाई यही वैशाख २९ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि कोषको सदस्यसचिवमा उहाँलाई नियुक्त गर्नुभएको हो ।

कोषको वरिष्ठ निर्देशक पदमा हाल कार्यरत डा पोखरेल प्रतिष्ठित वन्यजन्तु जीवविज्ञ, संरक्षण योजनाकार तथा प्रख्यात बाघविज्ञ हुनुहुन्छ । उहाँसँग संरक्षण क्षेत्रमा २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ ।

नवनियुक्त सदस्यसचिव डा पोखरेलले कोषको उद्देश्य, दूरदृष्टि तथा मूल्यमान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई प्रकृति संरक्षणको क्षेत्रमा अझ उच्च उपलब्धितर्फ अग्रसर गराउने दृढ अठोट व्यक्त गर्नुभयो ।