पाटन (ललितपुर), १३ जेठः राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारसमक्ष पेस भएका सिफारिस कार्यान्वयनको स्तर सन्तोषजनक नरहेको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष मगरले सुन्दर, समुन्नत र सु–संस्कृत राष्ट्रनिर्माणको पहिलो आधार अधिकार र दायित्व भएको चर्चा गर्नुभयो ।
उहाँले ‘ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट इन्स्टिच्युशन’ ले मार्च २०२५ मा गरेको आवधिक मूल्याङ्कनअनुसार आयोग ‘क’ श्रेणीमा दर्ज भएको जानकारी दिनुभयो ।
अध्यक्ष मगरले विगतमा भएका द्वन्द्वकालीन घटनाका पीडितको न्यायप्राप्तिमा ढिलाइ हुँदा पीडितका अधिकार हनन् भइरहेकातर्फ राज्य पक्षको ध्यान पुग्नुपर्ने बताउँदै प्रस्तावित राष्ट्रिय मानव अधिकार आयोग ऐन जारी गर्नुपर्ने उल्लेख गर्नुभयो ।
आयोगका सदस्य सदस्य लिली थापाले मानव अधिकारको प्रत्याभूत गराउनुपर्ने विषय अत्यन्तै चुनौतीपूर्ण भएको भन्दै राज्य मानव अधिकार प्रति संवेदनशील नभएको आरोप लगाउनुभयो ।
नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडपी) का उप–आवासीय प्रतिनिधि जुलियन चेभिलार्डले मानव अधिकारका क्षेत्रमा नेपालले आशातीत काम गरेको बताउनुभयो ।
गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष अर्जुन भट्टराईले नेपालको लोकतन्त्र प्रवद्र्धन र मानव अधिकारको सम्वद्र्धनमा आयोगले उल्लेखनीय काम गर्दै आएको छ, भन्नुभयो ।